Aafno Khabar

सावधान ! पखाला, उल्टी र पेट दुख्ने समस्या भएमा पनि हुनसक्छ काेराेना

  • आफ्नो खबर
  • September 4, 2020 प्रकाशित

बेलायतमा गरिएको एक अनुसन्धानले पखाला, उल्टी र पेट दुख्ने लक्षण देखिएमा समेत कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने निष्कर्ष निकालेको छ । विशेष गरी यी लक्षणहरु बालबालिकामा बढी देखिने अध्ययनले बताएको छ ।

क्विन्स युनिभर्सिटीको बेलफास्ट टिमले गरेको अनुसन्धानले बालबालिकामा डायरिया हुने, उल्टी हुने र पेट बटारिने लक्षण देखिएमा कोरोना संक्रमण भएको हुनसक्ने बताएको हो ।

यस अनुसन्धानका लागि एक हजार बालबालिका समावेश गरिएको बीबीसीले उल्लेख गरेको छ ।

यस अनुसन्धानका अनुसार ९ सय ९२ बालबालिका मध्ये ६८ जनामा एन्टीबडी पाइएको थियो । ६८ मध्ये १३ बालबालिकाले पखाला, उल्टी, पेट दुख्ने समस्या भएकाे बताएका थिए ।

६८ मध्ये २१ बालबालिकामा ज्वरो आउने समान लक्षण पाइएको थियो । यस अध्ययनमा समावेश गरिएका बालबालिका अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था भने नदेखिएको उल्लेख छ ।

बेलायतको स्वास्थ्य मन्त्रालयले यस अनुसन्धानको सुझाव अध्ययन गरिरहेको र कोरोनाको लक्षणमा समावेश गर्ने विषयमा छलफल भइरहेको बताएको छ ।

अहिले बेलायतमा मुख्यरुपमा खोकी, ज्वरो, गन्ध वा स्वाद थाहा नपाउने कोरोनाको लक्षण भएकाे बताइएकाे छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले यस अघि नै यस किसिमको लक्षण कोरोनाको लक्षणमा समावेश गरिसकेको छ ।