Aafno Khabar

काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञाबारे बुधबार निर्णय हुने

  • आफ्नो खबर
  • September 2, 2020 प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाबारे बुधबार निर्णय हुने भएको छ । २ साता निषेधाज्ञा गरिसक्दा पनि काेराेना संक्रमण नियन्त्रण नभएकाे र अझ फैलिरहेकाे अवस्थामा अब कसरी अगाडि बढ्ने भन्नेबारेका मंगलबार छलफल भएकाे थियाे ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको मंगलबारकाे भर्चुअल बैठकमा निषेधाज्ञाको मोडालिटी भने केही परिवर्तन गर्ने विषयमा छलफल भएको काठमाडाैंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयाे ।

‘हामीले स्थानीय तहदेखि विज्ञहरु सबैसँग छलफल गरी राय लिएर २ साता निषेधाज्ञा गरिसकेका छाैँ । काठमाडाैंमा संक्रमण बढीरहेकाे याे अवस्थामा अब कसरी जाने भन्नेबारे मोडालिटी तय गरेपछि बुधबार थप निर्णय हुन्छ ।’ दाहालले भन्नुभयाे ।

निषेधाज्ञाको समय बुधबार मध्यराति सकिनेछ। उपत्यकामा कोरोना संक्रमण बढेपछि गत तीन गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । सुरुमा एक साताका लागि जारी गरिएको निषेधाज्ञा पछि पुनः एक साता थप गरिएको थियो । काठमाडाैं उपत्यकामा निषेधाज्ञा गरिए पनि काेराेना संक्रमण भने प्रतिदिन बढिरहेकाे छ ।