Aafno Khabar

आजदेखि साेह्रश्राद्ध सुरु, कारणवश राेकिए के छ विकल्प ?

  • आफ्नो खबर
  • September 2, 2020 प्रकाशित

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध बुधबारदेखि सुरु भएकाे छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृकाे सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्ष पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो ।

पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण मानिस जम्मा हुन सक्ने अवस्था छैन ।

कारणवश श्राद्ध राेकिए के छ विकल्प ?

विश्वव्यापी रुपमा फैलिएको कोरोना नेपालमा पनि यसले महामारीको स्वरुप ग्रहण गर्न थालेको छ । यसबाट बच्न गत चैतदेखि बन्दाबन्दी, निषेधाज्ञा लगायत विधि अपनाइएको छ । श्राद्धका लागि कर्ता (गर्ने मानिस), ब्राह्मण (गराउन जान्ने मानिस) र श्राद्ध सामग्रीको आवश्यकता पर्दछ ।

श्राद्ध राेकिएमा शास्त्रमा अनेक विकल्प दिइएका छन् । आपत् धर्म अनुसार कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरुले बताउने गरेका छन् ।

यसबाहेक कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन पनि साेह्र श्राद्ध गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ ।