Aafno Khabar

तीजको अघिल्लो दिन दर किन खाने ?

  • आफ्नो खबर
  • August 20, 2020 प्रकाशित

काठमाडौं । हिन्दु नेपाली महिलाहरुको पर्व तीज आजबाट सुरु भएको छ । तीजको पहिलो दिन आज दर खाएर मनाइदै छ ।

विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण अघिल्ला वर्षहरुमा जस्तो यो वर्ष तीजको रमझम छैन् । तर पनि नेपाली महिलाहरु घरमा नै बसेर दर खाएर तीज मनाइरहेका छन । हामी भने दर भनेको के हो ? यसको धार्मीक महत्व कस्तो रहेको छ भन्ने बारेमा जानकारी दिन गइरहेका छौं ।

हाम्रो हिन्दु वैदिक परम्परा अनुसार ब्रत बस्नु अघिल्लो दिन शरीरलाई शुद्ध राख्न शुद्ध खानेकुरा खानुपर्छ। खानाबाटै मन, आत्मा, चित्त शुद्ध बन्ने विश्वास रहेकाले पवित्र कार्यअघि खानेकुरा छनोटलाई पनि महत्व दिइन्छ।

तीज भनेको धार्मिक परम्परासँग जोडिएको पर्व हो। तर तीजमा खाइने दरको सम्बन्ध धर्मसँग छैन। अघिल्लो दिन आडिलो खानेकुरा खाँदा ब्रतको दिन सजिलो हुन्छ भनेर दर खाने प्रचलन बसेको हो। गाउँघरमा तीजको दिन पनि काम गर्नुपर्ने हुन्छ।

भोकै दिनभरी काम गर्न सकिदैन, त्यसकारण अघिल्लो दिन नै दरिलो, आडिलो खानेकुरा खानुपर्छ भन्ने मान्यता रहेको हो। ब्रत बस्दा शरीरलाई कमजोर हुन नदिने विषयसँग दरको सम्बन्ध रहेको छ।

हिन्दु नेपाली संस्कारमा चेलीहरु तीजमा माइत जान्छन् र ब्रत बस्छन्। बल्लबल्ल माइत आएका चेलिबेटीहरूलाई मिठो खुवाउने मन अभिभावकहरुमा हुनु स्वभाविक हो। चेलिबेटीहरू तीजमा ब्रत बस्ने भएपछि उनीहरूलाई अघिल्लो दिन नै मिठोमिठो खुवाउने चलन पहिलेदेखि नै चलिआयो।

यसरी तीजको अघिल्लो दिन खाने परिकारलाई दर भनियो। पहिले–पहिले गाउँघरमा महिलाहरुले सामान्य खानेकुरा मात्र खान पाउँथे। यसबाट पर्याप्त पौष्टिक आहार पनि उनीहरुले पाउँदैनथे। शारीरिक रूपमा पोषण नपुग्ने भएकाले पनि दरको प्रचलन सुरु भएको हो। पहिले पहिले गाउँघरमा मिठो खान चाडबाड नै कुर्नुपर्थ्यो।

त्यसकारण तीजको अघिल्लो दिन शरीरलाई दह्रो बनाउने आडिला खानेकुरा सहित दर खुवाउने गरिन्थो। दरको रुपमा तीजको अघिल्लो दिन राती अबेरतिर अनादीको लट्टे, घ्यू हालेको खाना, खीर, ढकनीजस्ता तागत दिने खानेकुरा खाने चलन छ।

तर हिजोआज दरको रुपमा माछा मासु लगायतका खानेकुरा पनि खाने गरेको पाइएको छ। तीजमा ब्रत बस्नुलाई धर्मसँग जोडिने भएकाले अघिल्लो दिन माछा मासु खाएर ब्रत बस्नु शुद्ध मानिदैन। ब्रत बस्ने अघिल्लो दिन दूध, घ्यूबाट बनेको चोखो र आडिलो खानेकुरा खानुपर्छ।