काठमाडौं । महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज दर खाने प्रचलन छ । भाद्र शुक्ल द्वितीया अर्थात् हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ ।
दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।
दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको बताइन्छ ।
यसरी बनाउनुस् खीर
खीर बनाउन चाहिने आवश्यक सामग्री
– दुध १ लिटर
– चिनी (आवश्यक मात्रामा)
– चामल (बासमती वा ताइचिन) (आवश्यक मात्रामा)
– काजुका टुक्रा २ सानो चम्चा
– नरिवलका टुक्रा २ सानो चम्चा
– छोकडाका टुक्रा २ सानो चम्चा
– सुकुमेल २/३ पिस
– किसमिस ६/७ पिस
– ल्वाङ २/३ पिस
– तेजपात १/२ पात
खीर बनाउने तरिका
– सर्वप्रथम चामललाई केलाएर सफा पार्नुहोस् ।
– खीर बनाउन आवश्यक चामललाई सफा पानीले राम्ररी पखाल्नुहोस् ।
– चुलोमा आगो बाल्ने र दुध हालेर डेक्ची बसाल्ने ।
– दुधलाई राम्ररी तात्न दिने ।
– धोएर राखेको चामललाई उम्लिएको दुधमा हाल्ने ।
– आगोमा दुध र चामल केही मिनेटसम्म पकाउने ।
– दुधमा चामल छड्किन थालेपछि काजु, नरिवल, ल्वाङ, सुकुमेल, किसमिस, छोकडाको टुक्रा,चिनी, तेजपात हालेर छोप्ने ।
– चामल र मसलालाई सानो आगोमा १२/१५ मिनटसम्म पकाउने ।
– यसरी तपाईको खीर तयार हुन्छ । त्यसपछि खीरलाई चुलोबाट उतार्ने र मनतातो अवस्थामा भएपछि खीर खानुहोस् ।
परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।
तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण सामुहिक दर खाने र तीज मनाउन सरकारले रोक लगाएको छ । आफ्ना परिवारका सदस्यहरुसँग घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्न सरकारले आग्रह गरेको छ ।