Aafno Khabar

बार्सिलाेना भर्सेस बायर्न : मेस्सीका लागि बाधक बन्न सक्छन् लेवान्डाेस्की !

  • आफ्नो खबर
  • August 14, 2020 प्रकाशित

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा शुक्रबार राति बार्सीलोना र बायर्न म्युनिख आमने सामनेमा छन् ।

पोर्चुगलको लिस्वनमा याे खेल नेपाली समय अनुसार राती पौने एक बजे सुरु हुनेछ । च्याम्पियन्स लिगमा २ ठूला क्लबबीचकाे खेल उपाधि प्रतिस्पर्धाका रुपमा लिइएकाे छ ।

अन्तिम १६ मा नापोलीलाइ हराएको बार्सा ठूलो खेलमा राम्रो प्रदर्शन गर्ने टिममा पर्छ । बायर्नले पनि यो सिजन शानदार खेल खेलिरहेको छ । जारी सिजन नवौँ पटक घरेलु लिगको उपाधि जितेको बायर्न च्याम्पियन्यस लिगमा पनि अपराजित छ ।

याे खेल बार्सिलाेना र बायर्न म्युनिखकाे मात्र नभएर मेस्सी र लेवान्डाेस्की बीचकाे भिडन्तकाे रुपमा पनि हेरिएकाे छ । दुवै टिम मैदानमा उत्रँदा सबैकाे नजर मेस्सी र लेवान्डाेस्कीमा पर्ने निश्चित छ ।

मेस्सी याे पुस्ताका सर्वाधिक महान खेलाडीका रुपमा परिचित छन् । ३३ वर्षीय मेस्सीले बार्सिलाेनाबाट चार पटक च्याम्पियन्स लिग जितिसकेका छन् ।

पाेल्याण्डका फरवार्ड लेवान्डाेस्कीले अहिलेसम्म च्याम्पियन्स लिगमा जित हासिल गरेका छैनन् । याे सिजन भने उनी उत्कृष्ट लयमा छन् । उनी याे सिजन बायर्नलाई च्याम्पियन्स लिग जिताउने अभियानमा पनि छन् ।

बार्साका लागि रोवर्ट लेवान्डोस्की बाधक बन्न सक्छन् । उनले यो सिजन च्याम्पियन्स लिगमा १३ गोल गरिसकेका छन् ।