Aafno Khabar

बार्सिलाेनाविरुद्ध बायर्न म्युनिखकाे ८ गाेल

  • आफ्नो खबर
  • August 14, 2020 प्रकाशित

काठमाडाैं । जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । शुक्रबार राति भएकाे खेलमा बार्सिलाेना बायर्नसँग ८–२ गाेलले पराजित भएकाे हाे ।

बायर्नका लागि थोमस मुलर र फिलिप कोउटिन्होले २–२ गोल गरे । जोशुआ किम्मिच, सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, र इभान पेरिसिचले १-१ गोल थपे । बार्सिलोनाका लागि लुइस सुआरेजले एक गोल गरेका थिए भने अर्को गोल डेविड अलाबाको आत्मघाती गोल थियो ।

खेलकाे चाैथाे मिनेटमा नै बायर्नले अग्रता लिएकाे थियाे । बायर्नका लागि थाेमस मुलरले अग्रता दिलाएका थिए । त्यसकाे तीन मिनेटपछि डेविड अलाबाले बल क्लियर गर्न खाज्दा आफ्नै पाेस्टमा गाेल हुन पुग्याे । जसका कारण बार्सिलाेनाले एक गाेल उपहार पायाे ।

खेलकाे २१ औँ मिनेटमा बायर्नका लागि इभान पेरिसिचले गाेल गरे । त्यसपछि २७ औँ मिनेटमा बायर्नले अग्रता दाेब्बर बनायाे । उसका लागि सर्ज जिनाब्रीले गाेल गरे ।

त्यसपछि ३१ औँ मिनेटमा बायर्नका लागि थाेमस मुलरले टिमका लागि चाैथाे तथा व्यक्तिगत दाेस्राे गाेल गरे । त्यसपछि पहिलाे हाफमा गाेल हुन सकेन ।

दाेस्राे हाफमा खेलकाे ५२ मिनेटमा बायर्नका लागि लेविन्डाेस्कीले गाेल गरे पनि पास दिने मुलर अफसाइड भएकाले गाेलकाे मान्यता पाएन । त्यसपछि ५७ औँ मिनेटमा लुइस स्वारेजले गाेल गरी बार्सिलाेनालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर खेलकाे ६३ औँ मिनेटमा पुन: बायर्नले गाेल गरी तीन गाेलकाे अग्रता बनायाे । उसका लागि जाेसुआ किम्मिचले गाेल गरे ।

त्यसपछि पनि बायर्नकाे प्रहार राेकिएन । राेबर्ट लेवान्डाेस्कीले खेलकाे ८२ औँ मिनेटमा गाेल गरी बायर्नलाई ६–२ काे अग्रता दिलाए । त्यसपछि खेलकाे ८५ औँ र ८९ औँ मिनेटमा फिलिप काैटिन्हाेले गाेल गरी बायर्नलाई ८–२ काे फराकिलाे गाेल अन्तरकाे जित दिलाए ।

यसअघि अरबी लेइप्जिग र पीएसजीले लिगकाे अन्तिम चारमा स्थान बनाइसकेका छन् । अब सेमिफाइनलमा बायर्नले म्यानचेस्टर सिटी र लियाेनबीचकाे बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।