काठमाडौं । उपत्यकाभित्रका सबै स्थानीय तहले अत्यावश्यकबाहेक सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने भएका छन् ।
काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरूको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले तीन हप्ताका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
उपत्यकाभित्र समुदायस्तरमा संक्रमणको उच्च जोखिम रहेको भन्दै भिडभाड कम गर्न अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको फोरमले जनाएको छ ।
बैठकले सार्वजनिक यातायात पूर्ण रूपमा सञ्चालन भएपछि संक्रमण तीव्र गतिमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । निजी सवारीसाधनलाई भने जोर–बिजोर प्रणाली कामय राख्नुपर्ने बैठकले निर्णय गरेको छ ।
कलकारखाना, उद्योगधन्दाहरू, निर्वाध रूपमा सञ्चालन भई मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेकोले उद्योग तथा कलकारखानाभित्रै क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय फोरमले गरेको छ ।