काठमाडौं । नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । पछिल्लो विवरणअनुसार थप तीन जनाको मृत्यु भएकाे र मृत्यु हुनेको कुल संख्या ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।
पर्साका ७४ वर्षीय पुरुष, मोरङका ५८ वर्षीय पुरुष र काठमाडौंको टोखाकी ४१ वर्षीय महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।
गौतमका अनुसार काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षीया महिलाको साउन २३ गते कोरोनाबाट मृत्यु भएको हो । उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका ३ छप्कैयाका ७४ वर्षीय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो । मधुमेह र दमबाट पीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै, मोरङको विराटनगर महानगरपालिका ९ का ५८ वर्षीय पुरुषको पनि साउन २३ गते उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको हो । उनी उच्च रक्तचाप र निमोनियाका बिरामी थिए ।