काठमाडौं । उपत्यकाका तीन जिल्लामा अत्यावश्यकबाहेकका सेवा दुई साताका लागि बन्द भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले शुक्रबार बैठक गरी अत्यावश्यकबाहेकका सेवा दुई साताका लागि बन्द गर्ने निर्णय गरेका हुन्।
उक्त बैठकले कोरोनाभाइरसका संक्रमित भेटिएका स्थानमा सिल गर्ने निर्णय पनि गरेको छ।
महाबौद्धमा शुक्रबारमात्रै तीन जना कोरोना संक्रमित भेटिएका थिए। उक्त क्षेत्र शुक्रबार रातिदेखि अनिश्चितकालका लागि सिल गर्न लागिएको हो।
आजको बैठकले तीनै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता र पासपोर्ट वितरण बन्द गर्ने निर्णय गरेको छ।
‘अब उपत्यकाका क्वारेन्टिनलाई आइसोलेसनमा स्तरोन्नति गर्ने र प्रोटोकलअनुसार मापदण्ड पालना भए नभएको पनि अनुगमन गर्ने निर्णय गरिएको छ।
यस्तै बैठकले उपत्यका भित्र कुनै किसिमको सभा, गोष्ठी, सेमिनार गर्न नपाइने निर्णय गरेको छ। पछिल्लो समय संक्रमणको जोखिम बढेको स्थितिलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।