एजेन्सी । आयरल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा इंग्ल्याण्ड पराजित भएको छ ।
साउथह्याम्पटनमा मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड ७ विकेटले पराजित भएकाे हो । एजेस बाउलमा इंग्ल्यान्डले दिएकाे ३ सय २९ रनको लक्ष्य आयरल्याण्डले ४९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्याे ।
आयरल्याण्डको जितमा पाउल स्ट्रर्लिङले १ सय ४२ रनको शतकीय इनिङ्स खेल्दा कप्तान एण्डी बलब्रिनेले १ सय १३ रनको शतकीय इनिङ्स खेले ।
ह्यारी टेक्टर २९ तथा केभिन ओ ब्रायन २१ रनमा अविजित रहे । इंग्ल्यान्डका डेभिड विलि र आदील राशिदले १–१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले अलआउट भएर ३ सय २८ रन जोडेको थियो ।
इंग्ल्याण्ड का लागि कप्तान इयान मोर्गनले १ सय ६ रनको शतकीय इनिङ्स खेले । टम बानटनले ५८ रन जोड्दा डेभिड विलिले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।
आयरल्याण्डका क्रेग योङले ३ विकेट लिए । यस्तै, जोस लिटल र कुर्टिसले २–२ विकेट लिए ।
अन्तिम खेलमा पराजित भएपछि इंग्ल्यान्ड सिरिज क्लिन स्विप गर्न असफल भएको छ । इंग्ल्याण्डले सिरिज भने २–१ ले जित्न सफल भएको छ ।