एजेन्सी । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले चिनियाँ मोबाइल कम्पनी भिभोसँगको आईपीएलको मुख्य प्रायोजन सम्झौता रद्द गरेको छ । भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार चीन र भारतबीचको विवादका कारण बीसीसीआईले भिभोसँगको सम्झौता रद्द गरेको हो ।
यस वर्षको आईपीएल आउँदो १९ सेप्टेम्बरदेखि यूएईमा हुँदैछ । चीनसँग तनाव बढ्दै गएपछि आईपीएलमा भिभो मोबाइलको मुख्य प्रायोजन हटाउन बीसीसीआईमाथि चर्को दबाब परेपछि उसले भिभोसँगको सम्झौता तोडेको हो ।
भिभोले पाँच वर्षसम्म मुख्य प्रायोजन गर्नको लागि सन् २०१८ मा आईपीएलसँग २ हजार १ सय ९९ करोड भारुको सम्झौता गरेको थियो ।
सीमा क्षेत्रमा चिनियाँ सेनासँगको आक्रमणमा २० जना भारतीय सैनिकको ज्यान गएपछि दुई देशबीच तनाव बढिरहेको छ ।