लाजिओका स्ट्राइकर चिरो इमोबिलले इटालियन सिरी ए तथा युरोपियन गोल्डेन बुट जितेका छन् ।
सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको यो सिजनको अन्तिम खेलमा नापोलीसँग ३–१ ले पराजित भएको लाजिओका लागि चिरोले एक गोल गरे । उनले २२ औँ मिनेटमा गरेको गोल सिजनमा लिगमा गरेको ३६ औँ गोल बन्यो ।
टिम पराजित भए पनि चिरोले सिरी ए र युरोपियन गोल्डेन बुट जिते । युभेन्टसका क्रिष्टियानो रोनाल्डो सिरी ए को यो सिजनमा सर्वाधिक गोलकर्ताको सूचिमा दोस्रो स्थानमा रहे । उनकाे ३१ गाेल छ ।
युरोपका प्रमुख शीर्ष लिगमा सर्वाधिक गोल गर्ने व्यक्तिलाई प्रदान गरिने युरोपियन गोल्डेन बुट पनि चिरोले पाए । चिरो बुण्डेस लिगामा ३४ गोल गरेका रोबर्ड लेवान्डोस्की भन्दा २ गोल अघि रहे ।
रोनाल्डो युरोपमा यो सिजन सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा तेस्रो स्थानमा रहे।
चिरोले तेस्रो पटक सिरी ए गोल्डेन बुट जितेका हुन् । यसअघि उनले सन् २०१३–१४ को सिजनमा २२ गोल गरेर तथा सन् २०१७–१८ को सिजनमा २९ गोल गरेर माउरो आइकार्डीसँग संयुक्त रुपमा गोल्डेन बुट जितेका थिए ।