युभेन्टस नवाैँ सिजन इटालियन सिरी ए फुटबलकाे च्याम्पियन बनेकाे छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा साम्पदोरियालाई पराजित गरेर दुई खेल बाँकी हुँदै उपाधि पक्का गरेको हो ।
साम्पेदाेरिया युभेन्टससँग २-० ले पराजित भयाे । पहिलो हाफको इन्जुरी समयको सातौँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरी युभेन्टसलाई अग्रता दिलाए।
त्यसपछि खेलकाे ६७ औँ मिनेटमा फेदेरिको बेर्नार्देस्कीले गोल गरी अग्रता दोब्बर पारे ।
७७ औँ मिनेटमा थोर्स्बी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि साम्पदोरिया १० खेलाडीमा सीमित भएको थियो ।
दुई खेल बाँकी हुँदा युभेन्टसको ८३ अंक भएको छ । दोस्रो स्थानको इन्टर मिलानको ७६ तथा तेस्रो स्थानको एट्लान्टा र चौथो स्थानको लाजिओको समान ७५ अंक रहेको छ ।
जितपछि क्रिष्टियानो रोनाल्डोले युभेन्टसले जितेको इटालियन सिरी ए फुटबलको कीर्तिमान बढाउन लगातार नवौँ सिजनको उपाधि फ्यानप्रति समर्पित गरेका छन् ।