काठमाडौं । सन् २०१९ डिसेम्बरमा चीनको वुहान शहरबाट फैलिएको कोभिड १९ को संक्रमणले विश्व आक्रान्त छ । अहिलेसम्म यो भाइरसको कुनै पनि औषधि तथा खोप तयार भएको छैन । तर, विश्वभर कोरोना भाइरसको २३ ओटा खाेपकाे क्लिनिकल परीक्षण भइसकेको छ । यीमध्ये केही परीक्षणले आशा जगाएका छन् ।
अक्सफोर्ड विश्वविद्यालय
सबैभन्दा पहिला कोरोना भाइरको खोप बनाउन बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट सुरु भएको थियो । अप्रिलमै त्यहाँ मानिसमा कोरोना भाइरस भ्याक्सिनको परीक्षण गरिएको थियो । जुन विश्वमै पहिलो थियो । शुरुवाती चरणमा पहिलो पटक ८ सय जना मानिसमा कोरोनाको खोप परीक्षण गरिएको थियो । यो खोप निर्माण जेनर इन्स्टिच्युटका प्राध्यापक सारा गिल्बर्ट नेतृत्वको टोलीले गरेको थियो ।
कोरोना भाइरसको भ्याक्सिन विकास गर्न अक्सफोर्ड विश्वविद्यालयले ठूलो सफलता हात पारेको दाबी गरेको छ । विश्वविद्यालयले मानिसमा गरेको परीक्षण ‘ह्युमन ट्रायल’को क्रममा यो खोपले मानिसमा कोरोना भाइरससँग लड्ने प्रतिरोधी क्षमता विकसित गरेको पाइएको बताएको छ ।
अमेरिकाले पनि
कोरोनाका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका थरी–थरीका भनाइ आउने गरेका छन् । घरी यो चिनियाँ भाइरस हो भनेर त घरी अमेरिकाले खोप बनाइसक्यो भनेर नै किन नहोस् कोरोनाको कहरले विश्व आक्रान्त भइरहेका बेला ट्रम्पका विवादास्पद भनाइहरु आउने क्रम रोकिएन ।
अमेरिकामा पहिलोपटक परीक्षण गरिएको कोरोना भाइरविरुद्धको खोपले पनि मानिसमा कोरोना भाइरससँग लड्ने प्रतिरोधी क्षमता विकसित गरेको पाइएको विज्ञहरुको दाबी थियो ।
नेशनल इन्स्टिच्यूट अफ हेल्थ तथा मोडेरना इंकमा डा. फाउचीको सहकर्मीहरुले यो खोप विकास गरेका हुन् । २७ जुलाईदेखि ३० हजार मानिसमा यसको परीक्षण गर्ने तयारी छ । यो खोपले साँच्चै कोभिड १९ बाट मानव शरीरलाई बचाउन सक्ने दाबी गरिएको छ । तर परिक्षण भएर नतिजा नआउँदासम्म केवल आशा मात्र गर्न सकिनेछ ।
रुसमाथि खोप विकास गर्ने ‘फर्मूला’ चोरीको आरोप
विश्वभर कोरोना भाइरसको खोप निर्माण भइरहेको बेला रुसमाथि कोरोना भाइरस निर्माणको फर्मूला चोरी गरेको आरोप लागेको छ । तर ब्रिटेनका लागि रुसका राजदूत एंड्रेई केलिनले यो कुराको कुनै अर्थ नै नभएको भन्दै खण्डन गरेका छन् । यसअघि ब्रिटेनको नेशनल साइबर सेक्युरिटी सेन्टर (एनसीएससी)ले कोरोना भाइरसको खोप विकास गर्ने संगठनमाथि रुसका ह्याकरले निशाना बनाएको आरोप लगाएको थियो ।
अमेरिकाले पनि कोरोना भाइरसको खोपसँग जोडिएका अनुसन्धानहरु चोरी गर्ने कोशिस गरेको आरोप लगाएको थियो । करिब एक हप्ता पहिला रुसले पनि कोरोना भाइरसको खोप निर्माण गरेको दाबी गरेको थियो ।
पछि छैन चीन पनि
चीनले मे महिनामा यो वर्षको अन्तिमसम्ममा कोरोना भाइरसको भ्याक्सिन निर्माण गरिसक्ने दाबी गरेको थियो । चीनको ‘एसेट्स सुपरभिजन एण्ड एडमिनिस्ट्रेशन कमिशन’ले यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसको खोप बजारमा आउने दाबी गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेको थियो ।
वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स तथा बेइजिङ इंन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्सको तर्फबाट तयार गरिएको यो भ्याक्सिन २ हजार मानिसमा परीक्षण गरिने दाबी गरिएको छ ।
आशा यी खोपमा
कोभिड १९ विरुद्धका खोपहरु पत्ता लगाउनको लागि विभिन्न संस्थाले पनि अनुसन्धान गरिरहेका छन् । जसमध्ये केही खोपको नतिजा प्रभावकारी हुने आशा गरिएको छ ।
एमआरएनए–१२७३ खोप
अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्ना थेराप्युटिक्सले एमआरएनए–१२७३ खोप विकास गरेको हो । यो भ्याक्सिनको २ चरणको क्लिनिकल परीक्षण सकिएको छ ।
आईएनओ–४८०० खोप
अमेरिकी बायोटेक्नोलोजी कम्पनी इनोवियो फर्मास्युटिकल्सले परीक्षण गरेको आईएनओ–४८०० खोप को परीक्षण पनि उत्साहप्रद रहेको दाबी कम्पनीले गरेको छ । इनोवियो फर्मास्युटिकल्सको आधिकारिक वेबसाइटका अनुसार पहिलो चरणको नतिजा सकारात्मक देखिएको छ ।
एडी५–एनसीओभी खोप
चिनियाँ बायोटेक कम्पनी क्यासिनो बायोलोजिक्सले निर्माण गरेको यो खोपको तेस्रो चरणको परीक्षण भइरहेको छ । यो प्रोजेक्टमा क्यासिनो बायोलोजिक्सको साथमा इन्स्टिच्यूट अफ बायोटेक्नोलोजी तथा चाइनिज एकेडेमी अफ मिलिट्री मेडिकल साइन्सेज पनि काम गरिरहेका छन् ।
एलभी–एसएमइएनपी–डीसी खोप
चीनको शेन्जेन जीनोइम्यून मेडिकल इन्स्टिच्यूटमा यो खोपको परीक्षण भइरहेको छ । यसले पनि सकारात्मक नतिजा ल्याउने आशा गरिएको छ ।
–बीबीसीको सहयोगमा