एजेन्सी । बेलायतको अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सुरुवाती परीक्षणमा सकारात्मक नतिजा आएको छ ।
एस्ट्राजेनेकाको सहकार्यमा निर्माण गरिएको यो खोपको सुरुवाती परीक्षणले मानिसमा खोपको प्रयोग सुरक्षित रहेको देखाएको हो । यसले प्रतिरक्षा शक्ति पनि राम्रो हुने संकेत मिलेको छ ।
बेलायती अनुसन्धानकर्ताले गत अप्रिलमा पहिलोपटक कोरोना भाइरसविरुद्धको खोपको परीक्षण करिब एक हजार मानिसमा सुरु गरेका थिए । सोमबार प्रकाशित प्रतिवेदनअनुसार सुरुवाती परीक्षणको क्रममा १८ देखि ५५ वर्ष बीचका मानिसमा गरिएको खोपको परीक्षणमा दोहोरो प्रतिरक्षा प्रतिक्रिया (एन्टिबडी र टी–सेल) विकास भएको देखिएको छ ।
एन्टिबडीले कोरोना भाइरसलाई तटस्थ बनाउने काम गर्छ भने टी सेल एक किसिमको सेतो रक्तकोष हो । यसले मानिसको शरीरमा कोरोना भाइरसबाट संक्रमित कोष पहिचान गरी त्यसलाई नष्ट गर्ने काम गर्न सक्छ ।
अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले निर्माण गरेको यो खोपलाई आशलाग्दो खोपको रुपमा हेरिएको छ ।
यसैबीच कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) स्वागत गरेको छ । भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई डब्ल्यूएचओले बधाइसमेत दिएको छ ।
यद्यपि फैलिँदो संक्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको डब्ल्यूएचओले जनाएको छ ।