Aafno Khabar
add khanepani

यस्तो छ साउने सक्रान्तिको सांस्कृतिक महत्व !

  • July 16, 2020 प्रकाशित

आज साउन १ गते नेपालमा साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् ।

हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ ।

त्यसैले नेपाली जनजिब्रोले आजको दिनलाई साउने सक्रान्ति तथा लुतो फाल्ने दिनको रुपमा समेत मनाउने गरेको पाइन्छ । यसलाई कर्कट सक्रान्ति पनि भनिन्छ । सुर्यको किरण कर्कट रेखातर्फ उन्मुख हुने हुनाले यसो भनिएको हो । यसै दिन सुर्य नारायणको दक्षिणायन प्रारम्भ हुन्छ । सुर्य दक्षिणायन भएपछिको पहिलो चाड नै श्रावण सक्रान्ती हो ।

वर्षाकालको अन्त्य नागपञ्चमी मानिए पनि यस श्रावण सक्रान्तीको दिन वर्षाको कारण केहि नराम्रो भएन बाँचियो भन्ने भावना राख्दै पवित्र नदीतलाउमा स्नान गरि पाठपुजा समेत गर्ने प्रचलन पाइन्छ ।