काठमाडौं । कोरोना भाइरसको महामारीकाबीचमा शुरु भएको इंग्ल्याण्डविरुद्धको पहिलो टेस्टमा वेस्टइण्डिज विजयी भएको छ । छ वेस्टइण्डिज ४ विकेटले विजयी भएको हो ।
टस जितेर पहिला व्याटिङ गरेको इंग्ल्याण्डले पहिलो पारीमा २०४ रन बनाएको थियो । पहिलो पारीमा वेस्टइण्डिजले ३१८ रन बनाएको थियो । पहिलो पारीमा ११४ रनले पछि परेको इंग्ल्याण्डले दोस्रो पारीमा ३१३ रन बनाएर अल आउट भयाे । जसका कारण वेस्टइण्डिजे २०० रनको लक्ष्य पाएको थियो ।
वेष्ट इन्डिजले खराब सुरुवात गरेको थियो । वेष्ट इन्डिजले २७ रन बनाउँदा ३ विकेट गुमाएको थियो । ओपनर क्रेग ब्रेथवेइट ४, शाइ हो ९ रन बनाएर आउट भए भने शामरह ब्रुक्सले खाता खोल्न सकेनन् ।
संकट परेको इनिङ्स रफस्टन चेज र जर्मेन ब्ल्याकउडले मिलेर सम्हाले । उनीहरुले चौथो विकेटका लागि ७३ रनको साझेदारी गरे । ब्ल्याकउडले शेन डवरिचसँग पाँचौ विकेटका लागि ६८ रनको साझेदारी गरे । डवरिचले २० रन योगदान गरे ।
अन्तिमसम्म कप्तान जेशन होल्डर क्रिजमा रहेका थिए । उनी १४ रनमा नट आउट रहे । यस्तै, जाेन क्यामबेल पनि ८ रनमा नट आउट रहे । इंग्ल्याण्डका लागि जोफ्रा आर्चरले ३ तथा कप्तान स्टोक्सले २ विकेट लिए ।