काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य (वि.सं १८७१–१९२५) को २०७ औँ जन्मजयन्ती साेमबार मनाइँदैछ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएका थिए । त्यहीँबाट उहाँले रामायण नेपालीमा रचना गर्न प्रेरित हुनुभएकाे भन्ने भनाइ पनि छ । ‘वधुशिक्षा’ भानुभक्तको अर्को प्रसिद्ध कृति हो ।
यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् ।
भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले रामायण लेखेपछि नेपालीहरुमामा उहाँकाे लाेकप्रियता बढेकाे हाे । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ।
उहाँकाे जन्मदिनकाे उपलक्ष्यमा साेमबार बिहान काठमाडाैंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगरप्रभातफेरी गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी रहेका स्थानमा पनि मनाइन्छ । उहाँको निधन विसं १९२५ असोजमा भएको थियो ।