इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा न्यूक्यासल युनाइटेडमाथि म्यानचेस्टर सिटीले ५–० गाेल अन्तरकाे जित निकालेकाे छ । यसअघिको खेलमा सिटी साउथह्याम्पटनसँग पराजित भएको थियो ।
सिटीकाे घरेलु मैदानमा भएकाे खेलमा १० औँ मिनेटमा गाब्रिएल जिससले गोल गरी सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । २१ औँ मिनेटमा रियाद महरेजले गोल गरी अग्रता दोब्बर पारे । त्यसपछि सिटीले एक गाेल उपहारमार्फत पाएकाे थियाे । खेलका ५८ औँ मिनेटमा न्यूक्यासलका फेर्नान्डेजले आत्मघाती गोल गरेका थिए ।
डेविड सिल्भाले ६५ औँ तथा रहीम स्ट्रर्लिङ्गले इन्जुरीमा गोल गरेपछि सिटी ५–० ले विजयी भयो । जितपछि दोस्रो स्थानको सिटीको ३४ खेलबाट ६९ अंक भएको छ । पराजित न्यूक्यासल ४३ अंकसहित १३ औँ स्थानमा रहेकाे छ ।