काठमाडौं । भारतले सीमा अतिक्रमण जारी राखेको बेला दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी इन्सपेक्टरको नेतृत्वमा २५ जनाको टोली जाँदै छ । सीतापुरमा रहेको सई नेतृत्वको नेपाल प्रहरीको टोलीलाई पनि छाङरूमा लान लागिएको हो।
छाङरू भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकभन्दा करिब १०–१२ किलोमिटर वरै पर्छ ।
बन्दोबस्ती, खाद्यान्न र हातहतियारसहित उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरले छाङरूमा लगिनेछ ।
त्यसका लागि बुधबार बिहान गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापासहितको टोली नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंबाट दार्चुला प्रस्थान गरेको छ । सो हेलिकोप्टर दार्चुलाबाट इन्सपेक्टरसहितको टोलीलाई लिएर आजै छाङरू पुग्ने छ ।