Aafno Khabar

गोरखाका चार जना बालबालिकामा दादुराको संक्रमण

  • May 3, 2020 प्रकाशित

गोरखा । पूर्ण खोपयुक्त घोषणा भएको गोरखा जिल्लामा दादुराको संक्रमण देखिएको छ । गण्डकी गाउँपालिका–७ घ्याल्चोकका चार जना बालबालिकामा दादुराको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएपछि रगतको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । आइतबार आएको रिपोर्ट अनुसार उनीहरुमा दादुराको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको हो ।

‘दादुराको आशंकामा यही बैशाख १७ गते पाँच जना बालबालिकाको रगतको नमूना संकलन गरेर परिक्षणका लागी टेकु पठाइएको थियो । संक्रमित हुनेहरु ६ महिनादेखि १७ बर्षसम्मको रहेका छन् ।

‘दादुराको औषधी भनेको खोप नै हो, बच्चा जन्मिएको ९ र १५  महिनाभित्र यो खोप लगाउनुपर्छ, तर संक्रमितहरुको घरमा गएर बुझ्दा खोप लाए नलाएको परिवारलाई पनि थाहा नभएको पाइएको छ । दादुरा हावाको माध्यमबाट सर्ने रोग भएकाले उक्त ठाउँमा थप सर्तकता अपनाइएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गोरखामा वैशाख २६ गतेबाट दादुरा रुवेलाविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । ज्वरो आउने, रुघाखोकी लाग्ने र शरीरमा विमिरा आउने दादुराका लक्षण हुन् ।