उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएका हुन् ।
उनले रिबन काटेर सो कारखाना उदघाटन गरेको तस्वीर उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको छ ।
दक्षिण कोरिया भन्छ ‘किम जोंग उन जीवित र स्वस्थ छन’
समाचार एजेन्सी केसीएनएका अनुसार उनी सार्वजनिक हुँदा कार्यक्रममा सहभागीहरुले ताली बजाएर स्वागत गरेका थिए । उनी आफ्नी बहिनी किम यो जोङ्ग र सरकारका वरिष्ठ अधिकारीहरुसँगै कार्यक्रममा सहभागी थिए ।
यसअघि उनी १२ अप्रिलमा सार्वजनिक कार्यक्रममा देखिएका थिए । लामो समयसम्म उनी कार्यक्रमहरुमा नदेखिएपछि गम्भीर बिरामी भएको अड्कलबाजीसहित समाचारहरु सार्वजनिक भएका थिए ।
खासगरी अमेरिकी अधिकारीहरुले उनी कोमामा गएको दाबी गरेका थिए । तर, दक्षिण कोरियाली नेताहरुले भने किम जोङ्ग उन गम्भीर रुपमा बिरामी भएको कुरा सत्य नभएको बताउँदै आएका थिए ।