Aafno Khabar
add khanepani

घर बाहिर ननिस्कन सरकारकाे आह्वान, त्रास फैलाए कारबाही

  • March 18, 2020 प्रकाशित

काठमाण्डाै । सरकारले अत्यावश्यक कामबाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ ।

बुधबार बसेको काेराेना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक अन्य अवस्थामा बाहिर ननिस्कन र हिँडडुल नगर्न आह्वान गरेको हो ।

सार्वजनिक यातायातमा पनि सिट क्षमता भन्दा बढी यात्रु नबोक्न र धार्मिक तथा सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला नहुन पनि सरकारले आग्रह गरेकाे छ ।

यस्तै, सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब पनि अप्रिल ३० सम्म बन्द गर्ने निर्णय गरिएकाे छ ।

बैठकले कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी भ्रम फैलाउनेमाथि सरकारले कारबाही गर्ने निर्णय पनि गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कुनै पनि सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत भाइरसबारे भ्रम फैलाउनेमाथि विद्यमान कानून अनुसार कारबाही गर्ने निर्णय गरेको हो ।