Aafno Khabar

काेराेना भाइरसकाे केन्द्रबिन्दु बन्याे युराेप

  • March 16, 2020 प्रकाशित

एजेन्सी । कोरोनाभाइरसको संक्रमणबाट युरोप अहिले आक्रान्त बनेकाे छ । युराेपका तीन देशहरुमा एकै दिन ज्यान गुमाउनेहरुको सङ्ख्या अहिलेसम्म कै उच्च देखिएकाे हाे । इटालीमा गएकाे २४ घण्टामा ३६८ जनाले ज्यान गुमाएका छन् । स्पेनमा एक दिनमा ९८ जनाले ज्यान गुमाएका छन् भने फ्रान्समा २९ जनाले ज्यान ज्यान गुमाएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेलायतमा पनि एकै दिन सबैभन्दा बढी १४ जनाले ज्यान गुमाएका छन् । बेलायतमा पनि काेराेना भाइरसका कारण मर्नेको सङ्ख्या ३५ पुगेको छ ।

युरोपमा कारोनाभाइरसको संक्रमण बढ्न थालेपछि सरकारले नागरिकहरुको यात्रा सीमित गर्न थालेका छन् भने सीमाहरुमा कडाइ गर्न थालेका छन् । युरोपका धेरै देशहरुमा विद्यालयहरु बन्द गरिएका छन् ।

चीनबाट सुरु भएको कोरोनाभाइरसको महामरीको केन्द्रविन्दु अब युरोप बनेको विश्व स्वास्थ्य संगठनले घोषणा गरेको छ ।

पछिल्लो २४ घण्टामा स्वीटजरल्याण्डमा ८ सय नयाँ संक्रमित भेटिएका छन् । त्यहाँ संक्रमितको सङ्ख्या २२ सय पुगेको छ । सबैभन्दा बढी प्रभावित बनेको इटालीमा २४ हजार ७४७ जना संक्रमित बनेका छन् । त्यहाँ ज्यान गुमाएका मध्ये १ हजार २१८ जना मिलानको व्यावसायिक केन्द्र लोम्बार्डीका रहेका छन् । स्पेनमा ७ हजार ५५३ संक्रमित भेटिएका छन् भने फ्रान्समा संक्रमितको सङ्ख्या ५ हजार ४०० पुगेको छ ।

अहिलेसम्म विश्वभर कोरोनाभाइरसबाट १ लाख ६२ हजार ६८७ जना संक्रमित भएका छन् । जसमध्ये ८१ हजार ३ जना चीनका रहेका छन् । विश्वभरबाट ६ हजार ६५ जनाले ज्यान गुमाइसकेका छन् जसमा ३ हजार ८५ जना चीनका रहेका छन् ।