Aafno Khabar

सबै सुकुम्वासी र भूमिहीनलाई व्यवस्थापन गर्ने मन्त्रीकाे घाेषणा

  • March 1, 2020 प्रकाशित

महोत्तरी । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कोही पनि सुकुम्वासी, भूमिहीन अन्यायमा नपर्ने बताउनुभएको छ । महोत्तरी जिल्ला गौशाला नगरपालिकास्थित निगोन गाई गौशालाको नाममा रहेको सरकारी जग्गा फिर्ता गर्दै मन्त्री अर्यालले सरकारले कुनै पनि सुकुम्बासीलाई विस्थापित नगर्ने भन्दै सबैको व्यवस्थापन सरकारले गर्ने बताउनुभयो ।

“हामी भूमिहीन, सुकुम्वासीको समस्या समाधान गर्न हामी अगाडि बढेका छौँ”, मन्त्री अर्यालले भन्नुभयो, “यसको व्यवस्थापन सरकार आफैंले गर्छ, त्यसैले कोही सुकुम्वासी अन्यायमा पर्नु हुँदैन, सुकुम्वासीलाई विस्थापित गर्दैनौँ अरू व्यवस्थापन गर्छौ ।”

मन्त्री अर्यालले अतिक्रमित सरकारी, सार्वजनिक र गुठीको जग्गा फिर्ताको अभियानलाई तीव्रता दिनुभएको छ । सोहीक्रममा मन्त्री अर्यालले महोत्तरी जिल्लास्थित गौशाला नगरपालिका–५ स्थित निगौन गाई गौशालाको नाममा रहेको अतिक्रमित जग्गा फर्काउनुभएको हो ।

गौशालाको नाममा रहेको १४८ विघा सरकारकी जग्गामध्ये करिब १५ कट्ठा जग्गामा बनाइएको ३० वटा घर टहरा भत्काइएको हो । उक्त कार्यक्रममा मन्त्री स्वयं उपस्थित भएर सरकारको जग्गा संरक्षण गर्ने अभियानअन्तर्गत घरटहरा भत्काउने कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्य खत्री, गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतो, सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेश ठाडामगर, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद पुडासैनी, स्थानीय तहका नेतालगायतको उपस्थितिमा उक्त स्थानका घरटहरा भत्काइएका हुन् । त्यस स्थानमा दुई वटा एकतले पक्की घर निर्माण भएका थिए भने बाँकी टहराका रूपमा रहेका थिए । घरटहरा भत्काउने क्रममा स्थानीयवासीले पनि सहयोग गरेका थिए ।

गत वर्ष नै यो समस्याको समाधान गर्न सरकारले प्रयत्न गरेको भन्दै मन्त्री अर्यालले त्यहाँ बसेका नागरिकको आग्रहमा नै समय दिइएको भए पनि हालसम्म जमीन नछाडेका कारण सरकार बाध्य भएर आफैँ अगाडि बढेर जग्गा फर्काउनुपरेको बताउनुभयो ।

“हामीले गत साल नै यो समस्या समाधान गर्न खोजेका थियौँ, हजुरहरुले समय माग्नुभयो र धैर्य गर्यौँ, आजसम्म ठाउँ छाड्नु भएन”, मन्त्री अर्यालले भन्नुभयो, “थप सचेत बनायौँ । सार्वजनिक अपिल गर्याैँ, समय दिएर सूचना टाँस्यौँ, पत्र थमायौँ, यति गर्दा पनि तपाईंहरु नहटेपछि हामी आफैँ आएर हटाउन थाल्यौँ ।”