Aafno Khabar

नेपाल हङकङसँग पनि स्तब्ध, शीर्ष २ काे सम्भावना कम

  • March 1, 2020 प्रकाशित

काठमाडौं । नेपालले एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटमा लगातार दोस्रो हार व्यहोरेको छ ।

थाइल्याण्डको बैंककमा आइतबार भएको खेलमा हङकङसँग ४३  रनले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।

टेर्डथाई क्रिकेट मैदानमा हङकङले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । पहिलो विकेटका लागि ज्ञानेन्द्रले कुशल मल्लसँग ४२ रनको साझेदारी गरेपनि टोलीलाई जित दिलाउन सकेनन्  । कुशल १९ रनमा आउट भए  ।

यस्तै अविनाश बोहराले १२ रन जोड्दा आरिफ शेखले १० रन बनाए । करण केसीले ७ रनमा आउट भए । त्यस्तै  विनोद भण्डारी र दिपेन्द्र सिंह ऐरी ५/५ रनमा आउट हुँदा पारस खड्का ४ रनमा पेभेलियन फर्किए । पवन सर्राफ १ रनमा आउट हुँदा सन्दीप लामिछाने सुन्य रनमा आउट भए ।

हङकङका हरुन मोहमद अर्सादले ५ विकेट लिए । यस्तै अफ्ताफ हुसेनले ३ तथा इशान खानले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

हङकङका निजाकट खानले सर्वाधिक ४८ रनको योगदान दिए । उनले पहिलो विकेटका लागि साहिद वासिफसँग ५८ रनको साझेदारी गरेका थिए । वासिफ २६ रनमा आउट भए ।

यस्तै कप्तान अजिज खानले २९ रन जोड्दा हरुन मोहमद अर्सादले २७ रन बनाए । जेम्स जोनले १३ रन जोड्दा वाकस खान ५ रनमा अविजित रहे ।

नेपालका सन्दीप लामिछाने र सुशान भारीले २/२ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।

यो हारसँगै शीर्ष दुईमा रहदै एसिया कप छनोटमा पुग्ने नेपालको सपनामा धक्का लागेको छ । नेपालले २ खेलमा अंक जोड्ने सकेको छैन ।

उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड गएको नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो ।

हङकङले भने प्रतियोगितामा सुखद सुरुवात गरेको छ  ।

अब नेपालले तेस्रो खेलमा बुधबार आयोजक थाइल्याण्डसँग खेल्नेछ ।