Aafno Khabar
add khanepani

दोस्रो पटकको मिर्गौला प्रत्यारोपण नेपालमा नै गर्न किन तयार भए प्रधानमन्त्री ओली ?

  • आफ्नो खबर
  • March 1, 2020 प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आउँदो बुधबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महराजगञ्जमा मिर्गौलाको प्रत्यारोपण हुने भएको छ ।१२ वर्ष पहिले भारतको अपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो प्रत्यारोपण स्वदेशमै गराउने निर्णय गर्नुभएको हो ।

२०६४ सालमा पहिलो पटक मिर्गौलाको प्रत्यारोपण गर्नुभएका प्रधामन्त्री ओली त्यसयता विभिन्न रोगहरुसँग जुध्दै आउनुभएको छ । मिर्गौला प्रत्यारोपणपछिका हरेक रोगसँगको लडाईमा भने प्रधानमन्त्री निकै आत्मविश्वासी देखिनुहुन्छ । त्यस कारण पनि प्रधानमन्त्री ओलीका हरेक उपचार सफल हुने गरेको उपचारमा संलग्न डाक्टरहरु बताउँछन् ।

मिर्गौलामा समस्या आएपछि गत साउन १८ गते सिंगापुरको नेशनल युनिभर्सिटी अस्पताल जानुभएका प्रधानमन्त्री ओली सामान्य उपचार गरेर ९ दिनपछि स्वदेश फर्कनुभएको थियो । त्यसपछि पनि प्रधानमन्त्री ओली सोही अस्पतालमा उपचार गराएर स्वदेश फर्कनुभएको थियो ।

सिंगापुरमा प्रधानमन्त्री ओलीले मिर्गौलासम्बन्धी एण्टिबडीको मात्रा बढेका कारण त्यसलाई शरीरबाट निष्काशन गर्ने र मिर्गौलाको क्षमता बढाउने उपचार प्रक्रियामा सहभागि हुनुभएको उहाँका नीजि चिकित्सकले बताएका थिए ।

स्वास्थ्यमा समस्या आएपछि चिकित्सकहरुले सुझाव अनुसार नियमित डायलासिसमा जुट्नुभएका प्रधानमन्त्री ओली चिकित्सककै सल्लाहमा पुनः मिर्गौला प्रत्यारोप गर्ने निर्णयमा पुग्नुभएको हो ।

नेपालकै सरकारी अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउने निर्णय गर्नुभएका प्रधानमन्त्री ओलीो निर्णयलाई सबैले सकारात्मक रुपमा लिएका छन् । प्रधानमन्त्री ओलीलाई नजिकबाट नियालिरहेका चिकित्सकहरुले पनि यो अवस्थामा नेपालमै प्रत्यारोपण गर्ने निर्णय गर्नु अत्यन्तै सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

किन नेपालमा मिर्गौला प्रत्यारोपण गर्न तयार भए प्रधानमन्त्री ?
गत मंसिर १३ गते प्रधानमन्त्री ओली आकस्मिक रुपमा मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना हुनुभयो । लगत्तै उहाँको एपेण्डिसाइटिसको अपरेशन गरियो । चिकित्सकका अनुसार जटिल अवस्थामा उहाँलाई अस्पताल पुर्‍याइएको थियो ।

त्यो बेला १० दिन अस्पताल बसेर डिस्जार्ज हुनुभएका प्रधानमन्त्री ओलीको मन नेपालका चिकित्सकले जित्न सफ भए । जटिल अवस्थाको एपेण्डिसाइटिसको पनि सफल उपचार भएपछि प्रधानमन्त्री ओलीको नेपाली चिकित्सप्रति विश्वास बढेको देखिन्छ ।

त्यसबेला चिकित्सकहरुले प्रधानमन्त्रीलाई दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका र, सोही सुझावअनुसार प्रधानमन्त्रीले आउँदो बुधबार दोस्रो प्रत्यायारोपण गर्ने निर्णय गर्नुभएको हो ।