काठमाडाैं । त्रिकोणात्मक सिरिजका लागि अमेरिकी क्रिकेट टिम काठमाडाैं आइपुगेको छ। भारतको मुम्बईमा करिब १० दिनको बन्द प्रशिक्षण सकेर अमेरिकी टाेली आइतबार राति काठमाडाैंओर्लिएको हो ।
मुम्बईमा प्रशिक्षण र तीन वटा अभ्यास खेल खेलेर अमेरिकी टिम प्रतियोगिताभन्दा तीन दिन अगाडि आइपुगेको हो । आइतबार राति आठ बजे काठमाडाैं पुग्ने तालिका भए पनि विमान डिले हुँदा राति साढे १० बजे टिम नेपाल पुगेको हो ।
आइसीसी विश्वकप क्रिकेट लिग दुईको तालिकाको शीर्ष स्थानमा रहेको अमेरिकाले मुम्बईमा तीन अभ्यास खेलमा एकमा जित र दुईमा हार ब्यहोरेको थियो ।
अमेरिकाले पहिलो खेलमा जित निकालेपछि त्यसपछिका लगातार दुई खेलमा हार भोगेको थियो । अमेरिकी टिमले काठमाडाैंकाे कीर्तिपुरमा भाेली अभ्यास गर्नेछ । यस्तै पर्सी (मंगलबार) मुलपानी मैदानमा नेपालसँग अभ्यास खेल खेल्नेछ । अमेरिकाले लिग दुईको पहिलो खेलमा ओमानसँग खेल्नेछ ।
त्यसपछि उसले आफ्नो दोस्रो खेलमा शनिबार नेपालसँग खेल्नेछ । अमेरिकाले करिब १० वर्षपछि नेपाली भूमीको प्रतियोगिता खेल्दैछ । अन्तिम पटक सन् २०१० मा उसले आइसीसी विश्व क्रिकेट लिग डिभिजन पाँच खेलेको थियो । जसमा टिम उपविजेता बनेको थियो । त्यस बेला खेलेका टिमका कुनै पनि खेलाडी अहिले छैनन् ।