काठमाडौं । मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।
मछिन्द्रको जितमा विशाल राई र रञ्जित धिमालले एक एक गोल गरे । एपीएफका रमेश दंगालले एक गोल गरे । जितसँगै मछिन्द्रले १० खेलमा २२ अंक जोडेको छ । र, मछिन्द्रले दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबसँग २ अंकको अग्रता बनाएको छ । ९ खेलमा आर्मीको २० अंक रहेको छ । एपीएफ १० खेलमा ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
यस्तै आजै भएको पहिलो खेलमा थ्री स्टार क्लबले सरस्वती युथ क्लबविरुद्ध शानदार जित निकालेको छ । दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले रेलिगेशन क्षेत्रको सरस्वतीलाई ४/० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । थ्री स्टारको जितमा सन्जोग राईले ह्याट्रिक गरे ।
यस्तै एक गोल लाल राम्मव्राले एक गोल गरे । सरस्वतीसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा चार गोल गर्यो । योसँगै सन्जोग जारी लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनेका छन । जितसँगै थ्री स्टार लिगको चौंथो स्थानमा उक्लिएको छ । थ्री स्टारले १० खेलमा १७ अंक जोडेको छ । पुछारको सरस्वतीले १० खेलमा ४ अंक जोडेको छ ।