काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले माओवादी १० वर्षे जनयुद्ध सही भएको बताउनुभएको छ । मन्त्री पुनले जनयुद्धकै कारण नेपालमा गणतन्त्रसहितका राजनीतिक परिवर्तन सम्भव भएको नबिर्सन आग्रह गर्नुभयो ।
जनयुद्ध इतिहासको आवश्यकताका आधारमा चलाइएको राजनीतिक र सामाजिक अभियान भएको उहाँको भनाइ थियो । जनयुद्धबाट आएका नेताहरु उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री भएर राजकीय जिम्मेवारी निर्वाह गरिसकेको भन्दै मन्त्री पुनले जनयुद्धचाहिँ कसरी गलत भयो ? भन्ने प्रश्न गर्नुभयो ।
‘जनयुद्धको बेसमा आएको गणतन्त्र सबैका लागि स्वीकार्य हुने, जनयुद्धका नेताहरु उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री बन्दा स्वीकार्ने तर, गणतन्त्र ल्याउने जनयुद्ध र जनयुद्धका योद्धाहरु चाहिँ किन अस्वीकार्य भन्दै उहाँले प्रश्न गर्नुभयो ।
शहीद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेशनको प्रथम साधारणसभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । जनयुद्धलाई अस्वीकार गर्नु राजनीतिक बेइमानी भएको उहाँको टिप्पणी थियो ।
आफूहरु संयोगले जनयुद्धबाट बाँचेर आएको भन्दै शहीदहरुको सपना बाँचेकाहरुले पूरा गर्नुपर्नेमा मन्त्री पुनको जोड थियो । शहीदका सपना साकार पार्नकै लागि तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको उहाँको भनाई छ ।