काठमाडौं । भारतमा आयोजना हुने सन् २०२१ को आईसीसी टी – ट्ववान्टी विश्वकप क्रिकेटको लागि नेपालले सिधै ग्लोबल छनोट खेल्ने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले विश्वकपका लागि बिहिबार निकालेको रोडम्याप अनुसार नेपालले सिधै ग्लोबल छनोट खेल्ने मौका पाएको हो ।
आईसीसीको जनवरी १ मा सार्वजनिक भएको टी ट्ववान्टी वरियताका आधारमा नेपाल सिधै ग्लोबल छनोटका लागि छनोट भएको हो । नेपालसँगै जिम्बाबे, हङकङ र युएईले सिधै ग्लोबल छनोटमा स्थान बनाएका छन् ।
ग्लोबल छनोटमा १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालसँगै जिम्बाबे, हङकङ र युएईले क्षेत्रिय छनोट र सन् २०२० को विश्वकप खेल्ने टिमका पुछारका ४ राष्ट्र सम्मिलित १२ राष्ट्रसँग विश्वकपमा स्थान बनाउनका लागि खेल्नेछन् । ग्लोबल छनोटबाट उत्कृष्ट चार टिमले विश्वकपमा सहभागिता जनाउन पाउने छन् ।
यस्तै यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकप टी – ट्ववान्टीमा दोस्रो चरणमा छनोट हुने टिमले भने सिधै प्रतियोगितामा स्थान बनाउनेछन् । ग्लोबल छनोट ८ ८ राष्ट्रको विभाजन गरी सन् २०२१ को मार्च देखि जुलाई सम्म चल्नेछ ।