काठमाडाैं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन्।आइतबार अध्यक्ष खरेलले राजीनामा दिएका हुन्।
उनलाई भदौ २७ गते संचालक समिति सदस्यमा नियुक्त गरिएको थियो। लगत्तै भदौ ३१ गते मन्त्रिपरिषद् बैठकले खरेललाई निगमको कार्यकारी अधिकार प्रयोग गर्ने गरी कार्यकारी अध्यक्षको जिम्मेवारी दियो।
खरेलले निगमको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको कार्ययोजनामा निगमसँग रहेका सबै जहाज प्रभावकारी रुपमा उडाउने प्रतिबद्धता जनाएका थिए। त्यस्तै दुर्गमका सबै विमानस्थल संचालनमा ल्याउने समेत उनको प्रतिबद्धता थियो। तर यी प्रतिबद्धता पूरा गर्न नसकेको भन्दै उनीप्रति सरकारको दृष्टिकोण बदलिएको थियो।
खरेलको विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले असन्तुष्टि जाहेर गर्दै आएका थिए। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स अहिले चरम आर्थिक संकटमा परेको भन्दै उनको आलोचना हुन थालेको थियो।
नेपाल एयरलाइन्सको ऋण मात्रै ४० अर्बभन्दा बढी भइसकेको भन्दै एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले विमान उडाएर ऋणको किस्ता र ब्याज तिर्न नसक्ने घोषणासमेत गरिसकेका थिए। ४० अर्ब ऋण बोकेको पूर्ण सरकारी स्वामित्वको यो संस्थासँग अहिले वार्षिक किस्ताको रुपमा नै करिब ४ अर्बको दायित्व छ।
‘वाइडबडी’ विमान किन्न नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषसँग लिएको २४ अर्ब ऋको किस्ता तिर्न अहिले एयरलाइन्सले सकिरहेको छैन।