Aafno Khabar

ए डिभिजनमा मनाङ बराबरीमा रोकियो, पुलिसको जीत

  • २०७६ माघ ४ गते १४:१३ प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लबसँग बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङ र थ्री स्टारले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन ।

थ्री स्टारसँगको बराबरीसँगै मनाङले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ । यस्तै आजै भएको पहिलो खेलमा सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा पुलिसले जावलाखेललाई २–० गोल अन्तरले पराजित गरेको हो । जावलाखेललाई हराएसँगै पुलिस लिगको चौंथो स्थानमा उक्लिएको छ ।

लिगमा तेस्रो जित निकालेको पुलिसले ७ खेलमा ११ अंक जोडेको छ । जावलाखेल भने लिगको छैटौं स्थानमा छ । जावलाखेलको ७ खेलमा ९ अंक रहेको छ ।