Aafno Khabar

बसभित्र सामुहिक बलात्कारपछि हत्यामा संलग्नकाे मृत्युदण्ड पछि सर्याे

  • January 18, 2020 प्रकाशित

भारतमाा निर्भयाको सामूहिक बलात्कार र हत्यामा संलग्नहरुलाई मृत्युदण्ड दिने मिति पर सारिएको छ । नयाँ दिल्लीमा २०१२ मा भएको सामूहिक बलात्कार घट्नाका दोषीहरूको मृत्युदण्ड दश दिन पर सरेको हो ।

पटियाला हाउस कोर्टले जारी गरेको वारेन्ट अनुसार चार जना दोषीहरुलाई फेब्रुअरी १ अर्थात माघ १८ गते फाँसी दिइनेछ । अदालतले दोषी ठहर गरेका अक्षय सिंह, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई बिहान ६ बजे फाँसी दिइने अदालतले जनाएको हाे ।

यसपघि जनवरी २२ अर्थात माघ ८ गतेको लागि फाँसीको सजाय सुनाइएको थियो । तर, दोषी मध्येका मुकेश सिंहले दिएको जीवन रक्षाको अपील राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार खारेज गरेपछि उनीहरूको मृत्यदुण्ड निश्चित भएको हो ।

घटनामा संलग्न मुकेशका दाजु राम सिंहले २०१३ मा तिहाड जेलमा आत्महत्या गरिसकेका छन् । राष्ट्रपतिले जीवन रक्षाको अपिल खारेज गरेपछि अदालतका अधिकारीहरुले चार जना दोषीको विरुद्धमा नयाँ डेथ वारेन्टी जारी गरेकोे हो ।

सन् २०१२ को डिसेम्बर १६ मा २३ वर्षकी एक मेडिकल छात्रालाई गुडिरहेको बसमा सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो ।