बीबीसी । तथ्याङ्कहरूले यूकेमा ११ देखि १३ वर्ष उमेरका बालिकालाई वेबक्याम प्रयोग गरेर इन्टरनेटमा यौन क्रियाकलाप गर्न फकाउने र बाध्य पार्ने क्रम बढेको देखाएका छन ।
इन्टरनेट वाच फाउन्डेसनका अनुसार इन्टरनेटमा खोज्दा भेटिएका बालबालिकामाथि हुने यौन उत्पीडनका तस्बिरहरूको आफैँले खिचेकामध्ये ८० प्रतिशत तस्बिर ती उमेर समूहका बालिकाहरूको रहेको बताएको छ । सो संस्थाले गत वर्ष ३७ हजार आफैँ खिचेका बालबालिकाका तस्बिरहरूमाथि अध्ययन गरेको थियो ।
यसका प्रमुख कार्यकारीले त्यो सङ्ख्याको वृद्धिदर खतरनाक रहेको बताएकी छन । सुसी हार्गियाभेसले घरभित्र खिचिएका त्यस्तो तस्बिर र भिडिओहरूको उपलब्धतालाई राष्ट्रिय सङ्कट भनेकी छन ।
धेरैजसो भिडिओमा बालिकाहरूले क्यामरामा हेरेको र आफूले पठाइएको सन्देश पढ्दै भनेअनुसार यौन क्रियाकलाप गरेको देखिएको छ । फाउन्डेसनका अनुसार बाल यौन उत्पीडनका तस्बिर र भिडिओहरू भएका सबै वेबसाइटहरूको एक तिहाइ सामग्री घरमा आफैँ खिचिएको पाइएको छ।
हार्गियाभेसले भन्छिन्न, यी बालिकाका तस्बिर र भिडिओहरू उनीहरूलाई फकाएर, झुक्याएर र बाध्य पारेर यौन क्रियाकलाप गर्न लगाइएका हुन । यो राष्ट्रिय सङ्कट बन्दैछ ।
उनले साना उमेरका बालबालिकाहरूसँग शयनकक्षमा मोबाइल उपलब्ध हुँदा यौन उत्पीडनका पीडितहरूको उमेर कम हुँदै गएको बताएकी छन ।
त्यस्तो तस्बिर वा भिडिओ देख्नेहरूले अन्य बालिकालाई बचाउन कारबाहीका लागि प्रहरी वा सम्बन्धित क्षेत्रमा काम गर्ने निकायलाई जानकारी दिनुपर्ने बताइन ।
मारी कोलिन्स फाउन्डेसनकी टिन्क पाल्मरले बालिकाहरू भएको यस्तो सामग्रीको सङ्ख्या बढिरहेको बताइन । सबै इन्टरनेट प्रयोगकर्ताहरूले बुझ्नुपर्छ कि जसले राखेको भए पनि त्यस्ता सामग्री हेर्नु पनि गैरकानुनी हो ।
नेपालको अवस्था के छ ?
ईसीपीएटी इन्टरन्याश्नलले सन २०१९ मा गरेको एक अध्ययनले देखाएका तथ्यहरु छन ,
७२ प्रतिशत बालबालिकाको मोबाइलमा पहुँच छ,
इन्टरनेट प्रयोगकर्ता बालबालिकामध्ये ५२ प्रतिशतले एक्लै भएको अवस्थामा इन्टरनेट चलाउँछन, र
१६ प्रतिशत बालबालिकाले सामाजिक सञ्जालमा अश्लील वा अशिष्ट तस्बिर वा सन्देश प्राप्त गर्छन ।