Aafno Khabar

परमाणु सम्झौता नमान्ने ईरानकाे घाेषणा, अमेरिकामाथी आणबिक आक्रमण गर्ने चेतावनी

  • January 6, 2020 प्रकाशित

एजेन्सी । अमेरिकासँगको बढ्दो तनावलाई लिएर ईरानले सन् २०१५ मा परमाणु सम्झौताअनुसार लागू भएको प्रतिबन्धको पालना नगर्ने बताएको छ ।

‘परमाणु संवर्द्धनकाे लागि आफ्नो क्षमता, त्यसको स्तर, त्यसको समृद्धिका लागि अन्य सामग्रीको भण्डार र अनुसन्धात र त्यसलाई विकसित गर्न रोक्ने कुनै पनि प्रतिबन्धको पालना गरिने छैन ।’

तेहरानमा ईरानी मन्त्रिमण्डलको बैठकपछि यो बयान सार्वजनिक गरिएको हो । अमेरिकी हवाई आक्रमणमा आफ्ना सैन्य प्रमुख कासिम सुलेमानीको हत्या भएपछि ईरानको तर्फबाट यो प्रतिक्रिया आएको हो ।

सन् २०१५ को परमाणु सम्झौताअनुसार ईरान आफ्नो संवेदनशील परमाणु गतिविधि सीमित गर्न र अन्तर्राष्ट्रिरय निरीक्षकलाई आउने अनुमति दिन्थ्यो । यसको बदलामा ईरानमाथि लागेको प्रतिबन्ध समाप्त गरिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा यो सम्झौता रद्द गरेका थिए । उनले भनेका थिए, ‘ईरानसँग नयाँ सम्झौता गर्न चाहन्छु, जसले गर्दा उसले परमाणु कार्यक्रम र ब्यालेस्टिक मिसाइलको विकासमा अनिश्चितकालीन प्रतिबन्ध लगाउनेछ ।’