एजेन्सी । भिडन्त वा दुर्घटनामा परेर निधन हुने भारतीय सेनामा कार्यरत नेपाली नागरिकहरूको शव नेपालमा ल्याउन दिइनुपर्ने माग भूतपूर्व भारतीय गोर्खाहरूले गरेका छन । हाल भारतीय सेनामा कार्यरत गोर्खाहरूको निधन भए उनीहरूको शव भारतमै अन्त्येष्टि गरिदिने चलन रहेको छ ।
तर कतिपय मृतक सैनिकका परिवारले नेपालमै ल्याएर आफ्नै संस्कार अनुसार अन्त्येष्टि गर्न चाहने गरेका छन । भारतले भने भिडन्तमा मारिनेहरूलाई राष्ट्रिय सम्मान दिनुपर्ने भन्दै नेपालबाट मृतकका परिवारलाई बोलाएर अन्त्येष्टि गरिदिने गरेको छ ।
भिडन्तमा मारिनेहरूको अन्त्येष्टिमा भारतीय सेनाले त्यहाँको राष्ट्रिय झण्डा ओडाउनुका साथै सलामी दिने गरेको भूतपूर्व भारतीय गोर्खाहरू बताउँछन । उनीहरूका अनुसार सेनामा कार्यरत नेपाली नागरिकका परिवारले शव नेपाल ल्याउन चाहे भने चाहिँ सहज छैन।
तर कतिपयले निकै जोडबल गरेर शव नेपाल नै ल्याएको उदाहरण रहेको संयुक्त भूतपूर्व सैनिक एवम प्रहरी कल्याणकारी महासंघ नेपालका महासचिव कुलबहादुर केसी बताउँछन ।
गत बुधवार जम्मू–कश्मीरमा खटिएका भारतीय सेनामा कार्यरत गोरखाका २५ वर्षीय अर्जुन थापामगरको दोहोरो भिडन्तमा निधन भएपछि भूतपूर्व भारतीय गोर्खाहरूले माग दोर्होयाएका हुन । बुधवार मारिएका थापामगरको पनि नेपालको पूर्वी सीमाक्षेत्र नजिकै रहेको एउटा भारतीय सेनाको शिविरमा अत्येष्टि गर्नका लागि परिवारका सदस्यहरूलाई बोलाइएको बताइएको छ ।
भूतपूर्व भारतीय गोर्खाहरूले करिब डेढ महिना अघि भारतका स्थल सेना प्रमुख र गृहमन्त्रीलाई भेटेर पनि आफ्नो माग राखेको बताएका छन । उनीहरूका अनुसार स्थल सेना प्रमुख विपिन रावत र गृहमन्त्री अमित शाह मागमा सकारात्मक छन ।