काठमाडौंको महाराजगञ्ज स्थित कान्ति बाल अस्पतालको बहिरंग विभागमामात्र दैनिक ३०० बच्चा उपचारका लागि आउने गरेका छन् । यसमध्ये दैनिक ३० देखि ३५ जना झाडा पखाला र निमोनियाको समस्या हुने चिकित्सक बताउँछन् ।
ज्वरो, रुघा, खोकी,श्वास घ्यारघ्यार गर्नदेखि झाडा पखाला र निमोनिया जस्ता समस्या भएका बालबालिका लिएर अभिभावक अस्पताल आउने गरेका छन् । चिकित्सकहरूका अनुसार विशेष गरी एक वर्ष मुनिका बालिबालिका बढी प्रभावित भएका छन्।
आकस्मिक कक्षमा दैनिक आउने ८० देखि १०० मध्ये ६० प्रतिशत बालबालिका चिसोबाट प्रभावित भएर आउने गरेको अस्पतालका निर्देशक डाक्टर आरपी बिच्छा बताउँछन् ।
चिसोबाट जोगाउन बालबालिकालाई साँझबिहान घर बाहिर निस्किन नदिने, कोठामा न्यानो पारेर राख्ने जस्ता उपाय अपनाउनु पर्छ । बालबालिकालाई मोटसाइकलमा लिएर हिँड्नु हुँदैन ।
बालबालिका मात्र होइन रोग प्रतिरोधी क्षमता कम हुने भएका कारण वृद्धवृद्धामा पनि चिसोयाममा जोखिम बढ्ने गर्छ । त्यसैले उनीहरूलाई तातो रसिलो खानेकुरा ख्वाउने, प्रशस्त पानी पिलाउने गर्नुपर्ने सुझाव दिन्छन्, चिकित्सक ।
चिकित्सकहरूका अनुसार चिसोमा हेल्चेक्र्याइँ गर्दा साना नानी तथा वृद्धवृद्धाहरूको ज्यानै जानसक्छ । त्यसैले यो समयमा चिसोका साथै र धुलोधुवाँ र प्रदूषणबाट बच्नुपर्ने उनीहरू बताउँछन् ।।