Aafno Khabar

चितवन बन्यो पीपीएलको च्याम्पियन, पारस बने कीर्तिमानी कप्तान

  • December 28, 2019 प्रकाशित

कास्की । चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको उपाधि जितेको छ ।

पोखरामा शनिबार भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो । उपाधिसँगै चितवनले २७ लाख प्राप्त गरेको छ । उपविजेता बनेको विराटनगरले १० लाख रुपैयाँ प्राप्त गर्यो ।

पोखरा क्रिकेट मैदानमा चितवनले दिएको २ सय ३ रनको फराकिलो लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो । विराटनगरका मोहमद जैद आलमले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान प्रदिप सिंह ऐरीले ३६, पुनित मेहेराले ३२ र नोमान खानले १८ रन बनाए । चितवनका करण केसीले ३ तथा सन्नी पटेलले २ विकेट लिए । यस्तै रोहन मुस्तफाले १ विकेट हात पारे । यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो ।

चितवनको फराकिलो स्कोरमा अनिल कुमार शाह र रोहन मुस्तफाले अर्धशतकिय इनिङ्स खेले । विराटनगरका पुनित मेहेराले र जैद आलमले समान २ ̸ २ विकेट लिए । किशोर महतोले १ विकेट लिए । चितवन दोस्रो संस्करणमा अपराजित रहँदै उपाधि जित्न सफल भएको हो । यो सँगै चितवनका कप्तान पारस खडका नेपालमा आयोजना हुने तीन वटै फ्रेन्चाइज जित्ने पहिलो कप्तान बनेका छन् ।

सम्बन्धित शीर्षकहरु