कास्की । बुटलवल ब्लास्टरमाथि २१ रनको को जीत निकाल्दै विराटनगर टाइटन्स नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को फाइलनमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बिहीबार भएको खेलमा बुटवलले राम्रो सुरुआत गरे पनि समग्रमा स्कोर गर्न नसक्दा उपाधि होडबाट बाहिरिएको हो । अन्तिम दुई ओभरमा कसिलो बलिङ गर्दै बुटवललाई रोकेको विराटनगरले फाइनलमा चितवन राइनोजसँगको भेटलाई पक्का गरेको हो ।
यस अघि बुधबार भएको इलिमेनेटरको खेलमा बुटवलले विराटनगरलाई पराजित गरेको थियो तर फाइन प्रवेशका लागि भएको खेलमा बुटवल पराजित हुन पुग्यो । १ सय ६६ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रेको बुटवलको सुरुवाति ब्याटिङ राम्रो थियो ।
तर निर्धारित २० ओभरमा बुटवलले सबै विकेट गुमाएर मात्र १ सय ४४ रनमात्र जोडन सफल भयो । बुटवलका लागि अफताबुद्दिन अहम्मेदले सर्वाधिक ४३ रनको योगदान दिँदा भिम सार्कीले सर्वाधिक ४४ रनको पारी खेलेका थिए । शिवम सिंहले १४ तथा पुरन विकले १५ रनको योगदान गर्दा अन्य ब्याट्सले दोहोरो अंकको स्कोर गर्न भने सकेनन् ।
बुटवललाई रोक्न विराटनगरका लागि शाहब अलाम र पुनित मेहराले समान ३÷३ विकेट लिए भने मोहम्मद जैद अलाम, जितेन्द्र मुखिया र किशोर महतोले एक÷एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको समाप्तिमा ५ विकेट गुमाएर १ सय ६५ रन जोड्न सफल भएको थियो । विराटनगरका लागि सुनिल धमलाले ५४ बलको सामना गर्दै ६१ रन, कप्तान प्रदीप सिंह ऐरीले १३ बलमा ३३ रन, मोहम्मद जैद अलामले २० तथा लोकेस बम र पुनित मेहेराले समान १९÷१९ रनको योगदान गरे । त्यस्तै बुटवलका हर्ष टंकले २ विकेट लिए भने ललित भण्डारी र अभिनास बोहोराले समान १/१ विकेट हात पारे ।
प्रतियोगितामा शनिबार चितवन राइनोज र विराटनगर टाइटन्स उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । चितवन जारी प्रतियोगिताको एक मात्र अपराजित टोली हो । जसलाई नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले सम्हालिरहेका छन् ।