Aafno Khabar

पोखरामा फुलेका सुनाखरी

  • विश्वास खड्काथोकी
  • २०७५ असार १८ गते ०२:२१ प्रकाशित

‘मोफसलमा बसेर सिर्जना गर्नेहरू केन्द्रको नजरमा सधैँ बोधो ठहरिन्छन्,’ गीतकार सुमन श्रापितबाट आवेश, कुण्ठा र निराशासहित पहिलो वाक्य निस्कियो । यो वाक्य किन गम्भीर छ भने प्रायः चर्चित गीतकारको प्रतिनिधि अनुभव हो यो । उनी ०५७ सालदेखि निरन्तर साहित्य र संगीतको पुजारी बनेर सिर्जनाको घन्टी बजाइरहेछन् ।

हुन त हामी निराशाको सूची तयार पार्न भेटेका थिएनौँ । बरु श्रापितका सुन्दर सिर्जनाको धुनमा पौडन चाहन्थ्यौँ । तर, सत्य के भने जीवनमा खुसी र असन्तोषको ग्राफ असन्तुलित हुन्छ । र, अनुभवहरू स्वाभाविक रूपमा त्यसरी नै व्यक्त हुन्छन् ।

सुमन श्रापित, गीतकार/साहित्यकार

यतिवेला मोफसलका सुमनलाई बुझ्नु थियो । वेलावेला काठमाडौंमा भेटिइरहने श्रापितको गीतमा डुब्न हामी बसिरहेको अनामनगरको चिया पसलमा सम्भव थिएन । सीधै पोखरा हुत्तिनुपर्छ । शुभ प्रभातमा हट लेमनले अमिल्लिएका सुमनलाई मैले पोखरातर्फ डो-याएँ ।

नेपाली कला, साहित्य, संगीतमा पोखरा निकै लोभ लाग्दो इतिहास बोकेर उभिएको छ । भन्नेले त पोखरालाई साहित्य, कला, संगीतको राजधानी नै भन्छन् ।

सायद लेखनाथ पौड्याल, सरोज गोपाल, बाबा राणा, झलकमान गन्धर्भ, कवि जनकेशरी धर्मराज थापा, अलि मिया, हरिदेवी कोइराला, सरुभक्त, तीर्थ श्रेष्ठजस्तालाई जन्म दिएकाले पनि त्यसो भनिन्छ होला ।

सिर्जनाका भोका सुमन पनि ०५७ सालमा त्यही मुहानमा हामफाले । उनलाई त्यहाँ स्नातकको पढाइ पूरा गर्नु थियो । साहित्यको खेती गरेर सिर्जना फुलाउनु थियो । सुमन भन्छन्, ‘आफूलाई बचाउनका लागि सिर्जनाले मात्र पुगेन, मासु पसल पनि गर्नुप-यो । संकटकाल थियो । प्रहरीको चौकीनजिकै पसल थियो । त्यो मासु पसल पनि लामो समय टिकेन ।’

जीवन जिउन श्रापितलाई मासु पसल र सिर्जनाको पछाडि दौडनुपर्ने बाध्यता थिएन । आइएको पढाइलगत्तै भारत भास्सिएका सुमनले ०५५ सालमै प्रतिष्ठित टायर कम्पनीमा सेक्युरिटीको काम पाए ।

तर, सेक्युरिटी गर्दागर्दै श्रापितले ‘विछोडको वेदना’ कवितासंग्रह नै निकाले । सुमन फ्ल्यासब्याकमा फर्कन्छन्, ‘भारतीय आर्मीको भन्दा राम्रो सुविधाको जागिर थियो । तर, सिर्जनामा रमाउने मनलाई खुकुरी भिरेर बसेको कत्ति रुचेन । त्यसैले राम्रो जागिर लत्याएर गीत, कविता, गजल लेख्न पोखरा आइपुगेँ ।’

०००

तित्याङको गाउँमा हलो जोत्दा भिर्ने रेडियोले उनलाई सिर्जना र गायनप्रति मोहित बनायो । नेपाली शिक्षक थिए, गोपालप्रसाद शर्मा ।

उनैले बच्पनदेखि साहित्य सिकाए । त्यसैले त स्कुले सुमनका रचना माधुरीजस्ता पत्रिकामा छापिन्थे । र, सुमन बाग्लुङ बजार आउँदा लिएर जाने साहित्यिक पत्रिका, कविर थापा, इन्द्रबहादुर राई, पारिजातका सिर्जनाले साहित्यको भोक जगायो ।

तर पनि उनलाई त गायक बन्नु थियो । पोखरा छिरेको केही समयमै आफ्नै एकल रचना, गायन र बिबी अनुरागीको संगीतमा पूर्णिमाको रात नामक लोक एल्बम सार्वजनिक गरे । एल्बममा अत्यधिक रुचाइएको गीत थियो, ‘पूर्णिमाको रात सानु, मायामा हुँदैन सानो ठूलो जात ।’

 

संगीत बजारमा एउटा इँटा थप्न मैले पोखरामा फुलेका सुनाखरी किताब निकालेँ । किताबमा मेरो मात्र होइन, लेखनाथ पौडेलदेखि २ सय १० जना साहित्यकारका गीत संगृहित गरेको थिएँ ।

 

चलचित्र गोर्खा पल्टनमा श्रापितको गीत ‘अच्छा लेकिन क्या बात’ जस्तै थियो पोखरामा उनीहरूको टिम । बिबी अनुरागी, तिलकबम मल्ल, रामजी नेपालीलगायतको समूह थियो । त्यतिवेला तिलकबम मल्लको परिवेश ब्यान्ड चर्चित बन्यो ।

सुमन भन्छन्, ‘बिबी, हामीहरू भुइँमा बिस्तरा लगाएर सँगै सुत्थ्यौँ । कहिलेकाहीँ त एउटै बेडमा ५–६ जनासम्म हुन्थ्यौँ ।’ उनीहरूको त्यो टिम सिर्जनशील थियो । सुमन त्यसवेला पत्रकारितामा पनि कलम चलाउन थाले । जुन उनको लागि बाँच्ने आधार बन्यो ।

त्यतिवेलै हो सुमनले तिलकबम मल्लको स्वरमा रिमझिम, रामजी नेपालीको स्वरमा कुन परी हौ भन तिमी, आफ्नै स्वरमा फूलपाती देवीदेउता क्यासेट बजारमा ल्याएको । क्यासेटको युग थियो त्यो, मेमोरी कार्ड भन्ने त्यसवेला कसलाई पो थाहा थियो होला र ?

०००

श्रापित पोखरा युवा सांस्कृतिक परिवारमा आबद्ध भए । अब उनको परिचयको दायरा झन् फराकिलो बन्यो । जुन पोखराको प्रतिष्ठित संस्था थियो । दुई कार्यकाल त सुमनले सचिव भएर परिवार हाँके । त्यतिवेलै सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवीको संगतबाट धेरै सिके ।

सुमन भन्छन्, ‘त्यतिवेला हामी पोखरामा साहित्यिक र सांगीतिक कार्यक्रम धेरै गथ्र्यौं । वाचनपछि सधैँ अग्रजहरू हौस्याइरहनुहुन्थ्यो । म झन् लेख्न थाल्थेँ ।’

त्यही हौसलाले उनको नयाँ कृति आयो, पोखरामा फुलेका सुनाखरी । सुमन भन्छन्, ‘संगीत बजारमा एउटा इँटा थप्नका लागि मैले त्यो कदम उठाएँ । किताबमा लेखनाथ पौड्यालदेखि पोखरेली २ सयभन्दा बढी साहित्यकारका गीत संगृहित गरेको थिएँ ।’

त्यतिवेलासम्म उनको कल्पना गौतम र स्वरुपाको स्वरमा मेरो धड्कन तिमी, मोहनीमा, तिन्तीमिन्ती, कृष्ण नेपालीको स्वरमा मन पराउनु तिमीलाईलगायत गीत रेकर्ड भइसकेका थिए ।

सुमनले पोखरामा राम्रो गीतकारको छवि बनाइसकेका थिए । त्यहीबीचमा सुमनको अर्को आधुनिक गीत तथा गजल एल्बम आयो, शुभयात्रा ।

दुई वर्षपछि अर्थात् ०६९ मा काठमाडौंबाटै संकल्प एल्बम सार्वजनिक गरे । त्यसपछि नेपाली म्युजिकले उनको रचना खोज्न थाल्यो । उनको यात्रा रोकिएन, देविका बन्दना, स्वरुपा, अञ्जु पन्त, सुनीता दुलालसँग काम गरे ।

त्यही समय गायिका मिलन अमात्य नेपाली संगीत क्षेत्रमा उदाइन् । मिलन अमात्यको डेब्यु गीत जसलाई मुटुको अंश ठानेको थिएँका गीतकार थिए, श्रापित ।

त्यसपछि उनको अर्को टर्निङप्वाइन्ट बन्यो चलचित्र निसानी र परदेशी । निसानीको अच्छा लेकिन क्या बात, सोल्टीज्यू, परदेशीको सिरीमा सिरी मुरली बज्यो निकै रुचाइयो । जसमा बलिउडका स्टार उदितनारायणको पनि स्वर छ ।

चलचित्र जीवनलीलाका कहिले ओराली झर्छ जिन्दगी, स्वरूपराज र कमला गौतमको मेरो धड्कन तिमी, अञ्जु पन्तको यसपालिको तिज, देविका बन्दनाको फुरुक्क परे बरिलईलगायत श्रापितका चर्चित गीत हुन् । आजसम्म आइपुग्दा उनका डेढ सय गीत रेकर्ड भइसकेका छन् भने आधा दर्जनभन्दा बढी चलचित्रमा गीत गुञ्जिसकेका छन् ।

रोमान्टिक उदितनारायण

सुमनको रचना उदितनारायणबाट स्वरबद्ध भएर बजारमा आउँदै छ । तर, उदितनारायणसँग भने सुमनको भेट परदेशी फिल्मको गीत रेकर्ड गराउँदाताका भएको थियो । जतिवेला बिबी अनुरागी र सुमन उदितनाराणलाई भेट्न मुम्बई पुगेका थिए । श्रापितले त्यो क्षण सम्झिए ।

‘बादल फाटेको वेला बोलको गीत रेकर्ड गराउन मुम्बई पुगेका थियौँ । सुरुमा त उहाँको समय मिलाउनै हम्मेहम्मे प-यो । त्यतिवेला रञ्जित गजमेरले हामीलाई सहयोग गर्नुभयो । दीपा दिदी र उदित दाइको समय मिलेपछि स्टुडियो बुक ग-यौँ । उदित दाइ आउनुभयो ।

स्टुडियोको बिल चढिरहेको थियो । उहाँले भन्नुभयो, ‘बसाइ कति छ ?’ हामीले भन्यौँ, ‘काम सकेर भोलि नै फर्कने ।’ उहाँले भन्नुभयो, ‘मेरो तबियत खराब छ । भोलि गरौँ । खै लिरिक्सचाहिँ हेरौँ ।’ लिरिक्स हेर्नेबित्तिकै उहाँले डायरी निकाल्नुभयो ।

डायरीको सुरुमा गणेशको फोटो थियो । भन्नुभयो, ‘सिरीमा सिरी बतासै चल्यो आहा क्या अच्छा ।’ एक्कासि रोमान्टिक मुडमा आउनुभयो । र भन्नुभयो, मेरो नेपालको ग्यापलाई यो गीतले पूरा गर्नेछ । बिबीले गीतको संगीत सुनाएपछि उहाँ त तत्काल गीत गाउन कस्सिनुभयो ।

गीत तयार भएपछि उहाँ आफैँ गीत सुनेर मस्तसँग नाच्नुभयो । हामी रमाइलो गरेर लेटनाइटसम्मै बस्यौँ । उहाँ एउटा काममा लागेपछि अर्कोतर्फ ध्यानै दिनुहुँदैन रहेछ । अर्को दिन हामीलाई घरमै निम्ता गर्नुभयो । उहाँकै घरमा खाजा, खाना खायौँँ । र, मेरो अर्को गीत बादल फाटेको वेला पनि त्यही दिन रेकर्ड ग-यौँ ।’

०००

श्रापित अहिले पनि गीत सिर्जनाकै कर्ममा छन् । र, मोफसलबाटै राजधानीलाई हस्तक्षेप गर्दै छन् ।