आकासे पानी समयमै परेका कारण हुम्लाका अधिकांश किसान रोपाइँमा व्यस्त हुन थालेका छन् । सिँचाइको सुविधा राम्रो नहुँदा हरेक वर्ष आकासे पानी कुर्नुपर्ने किसानको बाध्यता छ । खोलाको कुलोले धान रोपिएको भए तापनि आकासे पानी पर्दा सहज भएको सर्केगाड गाउँपालिका–७ का किसान राजेन्द्र कार्कीले बताए ।
व्यावसायिक खेती गर्न नसकिए पनि हुम्लाको दक्षिणी भेगमा मात्र रोपाइँ गर्ने गरिएको छ । जिल्लाका अदानचुली, सर्केगाड, चंखेली र खार्पुनाथ गाउँपालिकाका केही वडामा मात्र धानको रोपाइँ हुने गरेको छ । प्राविधिक ज्ञान, उन्नत जातको धानको बिउ र बेर्ना, मलखाद र खेती प्रविधि र सिँचाइको राम्रो प्रबन्ध भएमा मात्र किसान लाभान्वित हुने उनको भनाइ छ । जिल्लामा रातो चामलको मूल्य प्रतिकिलो २ सयदेखि ३ सयसम्ममा बिक्री हुन्छ । तर, हुम्लामा भात खानकै लागि हरेक वर्ष नेपाल खाद्य संस्थानको चामल कुर्नुपर्ने अवस्था कायम छ ।
जिल्लामा भिरालो जग्गा बढी भएकाले सीमित खेतमा मात्र धानखेती हुने गरेको छ । हरेक वर्ष हुम्लाका किसानले पहिलो बाली उवा अथवा जौ र दोस्रोमा धानको खेती गर्ने गरेका छन् । जिल्लामा उच्च प्रविधिका जातको बिउ जिल्ला कृषि विकास कार्यालयले किसानलाई वितरण गरेको भए तापनि त्यसको प्रभावकारिता देखिएको छैन ।
रोपाइँका लागि चाहिने बिउ, बेर्ना र सीप नहुँदा हुम्ली किसानले समस्या भोग्दै आएका छन् । सीमित खेतमा मात्र खेती गरिने धान बाली प्रवद्र्धन गर्न सकिएमा हुम्लामा मात्र खेती गरिने रातो चामलको बजार राम्रो रहेको स्थानीय कृषक कुसुम कार्कीले बताए । हुम्लाको धान विशेष गरेर सुत्केरी महिला, बिरामी र अशक्त व्यक्तिका लागि राम्रो आहाराका रूपमा खेती गर्ने गरिएको छ ।