एसइई नतिजामा पनिकाको असावधानी
केही दिनअघि सार्वजनिक भएको ०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा परीक्षा नियन्त्रण कार्यालय (पनिका)को असावधानी देखिएको छ ।
शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिले आइतबार शिक्षामन्त्री गिरिराजमणि पोखरेललार्ई बुझाएको प्रतिवेदनमा असावधानी र प्राविधिक त्रुटिका कारण दुई दिन फरक–फरक नतिजा आएको ठहर गरेको छ ।
पनिकाले उत्तरपुस्तिका परीक्षण गरी अंक दिने र विद्यार्थीले पाएको अंकलाई ग्रेडमा रूपान्तरण गरी नतिजा सार्वजनिक गरेको थियो । पनिकाले विद्यार्थीले पाएको अंक ग्रेडमा रूपान्तरण गर्दा गल्ती गरेका कारण हजारौँ विद्यार्थीको नतिजामा त्रुटि भएको थियो ।
पनिकाले ९०, ७० र ५० अंक पाएका विद्यार्थीलाई पाउनुपर्नेभन्दा तल्लो ग्रेड दिएको थियो । ९० अंक ल्याउने विद्यार्थीले ‘ए प्लस’ पाउनुपर्नेमा ए ग्रेड दिइएको थियो ।
अर्को दिन त्यसलाई सच्याइएको थियो । छानबिन समितिका एक सदस्यले भने, ‘विद्यार्थीले सुरुमा पाएको अंक घटबढ भएको छैन, ग्रेडमा रूपान्तरण गर्दा सावधानी नअपनाएको पाइयो ।’
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले ९०, ७० र ५० अंक ल्याएका विद्यार्थीकोमा धेरै त्रुटि भएको र अरू अंकमा केही त्रुटि भएको जानकारी प्राप्त भएको बताए । बोर्डले अधिकार प्रत्यायोजन गरी पनिकाले एसइई परीक्षा सञ्चालन र नतिजा सार्वजनिक भएको थियो ।
सिस्टममा समस्या
पनिकाको सिस्टममा समस्या भएका कारण ९ असारमा सार्वजनिक नतिजा र अर्को दिन सच्याइएकोमा हजारौँ विद्यार्थीको नतिजा फरक परेको थियो । वेबसाइटमा ‘सिस्टम कम्पाटिविलिटी’ नमिलेकाले रिजल्टमा फरक परेको थियो ।
पनिकाले जेनेरेट गरेको सिस्टममा इरर हुँदा नतिजामा फरक परेको थियो । पनिकाको आफ्नै वेबसाइट र अरूलाई आधिकारिक रूपमा नतिजा सार्वजनिक गर्न दिएको वेबसाइट, एसएमएसमा समेत समस्या थियो । एनटिसीमा अपलोड नहुँदै मिलाएर दिएका कारण त्रुटि नभएको पनिकाका अधिकारीको भनाइ छ ।
परीक्षा नियन्त्रक मन्त्रालयमा तानिए
एसइई नतिजामा त्रुटि भएको ठहरपछि परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मी शिक्षा मन्त्रालयमा तानिएका छन् । छानबिन समितिले असावधानी र प्राविधिक त्रुटि भएको प्रतिवेदन शिक्षामन्त्रीलाई बुझाएपछि रेग्मी मन्त्रालयमा तानिएका हुन् ।
रेग्मी तानिएपछि मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि परीक्षा नियन्त्रकको जिम्मेवारीसमेत दिएको छ ।
त्रुटि सच्याउनेको भिड
पनिकामा एसइईको नतिजा सार्वजनिक भएपछि त्रुटि सच्याउने र पुनर्योगका लागि दैनिक ठूलो भिड लाग्ने गरेको उपनियन्त्रक दिल्ली लुइँटेलले बताए ।
धेरै विषय परिवर्तनका केस आएको उनले बताए । यस वर्ष साधारण धारतर्फ नियमित चार लाख ५१ हजार ५३२ र एक्ज्याम्टेटतर्फ २५ हजार १३२ सहभागी थिए । त्यसैगरी, प्राविधिक धारतर्फ नियमितमा आठ हजार ९०६ र एक्ज्याम्टेडतर्फ १० जना सहभागी थिए ।