भारतीय तस्करले सुन तस्करीका लागि अब कञ्चनपुर र कैलालीस्थित गड्डाचौकी नाका प्रयोग गर्ने गरेको देखिएको छ । गड्डाचौकी भारत–नेपाल जोड्ने मुलुककै चौथो महत्वपूर्ण नाका मानिन्छ । डेढ महिनाको अवधिमा गड्डाचौकी नाका हुँदै भारतीय बजारमा लैजाँदै गरेको अवस्थामा साढे तीन केजी सुन बरामद भएपछि यस्तो तथ्य खुलेको हो ।
कञ्चनपुर प्रहरीले गत २ जेठमा गड्डाचौकी नाका हुँदै भारत जान लागेको एचआर १२ एएफ ००६ नम्बरको गाडीमा ४९६ ग्राम सुन बरामद गरेको थियो । सोही नाका हुँदै भारत हिँडेको ८०० युके ०२४६८४ नम्बरको मारुतीबाट प्रहरीले शनिबार तीन केजी सुन बरामद गरेको छ । उक्त सुन काठमाडौंको नागढुंगा नाकाबाट बरामद भएको हो । तस्करीका दुवै घटनामा भारतीय नम्बर प्लेटको गाडी प्रयोग भएका छन् । पक्राउ पर्ने पनि भारतीय नागरिक नै छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले यो घटनालाई २ जेठको गड्डाचौकीमा बरामद गरिएको सुनसँग जोडेर हेरिएको बताए । ‘२ जेठमा कञ्चनपुर प्रहरीले करिब डेढ केजी सुन गड्डाचौकी नाका हुँदै भारत लैजान लागिएको अवस्थामा बरामद गर्यो । शनिबार पनि सोही नाका भएर भारतीय बजारमा लैजान लागिएको तीन केजी सुन बरामद भएको छ । यी दुई घटनाबीच केही सम्बन्ध हुन सक्ने हाम्रो अनुमान छ । अनुसन्धान हुँदै छ,’ उनले भने ।
गत २ जेठमा प्रहरीले सुनसँगै भारत हरियाणाका जितेन्द्र सैनीलाई पक्राउ गरेको थियो । बयानमा उनले उक्त सुन काठमाडौंमा खरिद गरेको बताएका थिए । शनिबारको घटनामा पनि प्रहरीले चार भारतीयसहित एक नेपाली पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको टनकपुरस्थित चम्पावतीका राधेमोहेन जोशी, सम्झना साह, अशोककुमार, दीपककुमार मोर्रे र नेपाली नागरिक कञ्चनपुर भीमदत्त–६ का मनोज विक रहेका छन् । पक्राउ पर्नेमध्ये दीपककुमार मारुतीचालक, मनोज सहयोगी तथा राधेमोहन, सम्झना र अशोक सुनका मालिक हुन् ।
प्रहरीले चालक दीपककुमार र मनोजलाई नागढुंगाबाट सुनसँगै पक्राउ गरेको हो । राधेमोहन, सम्झना र अशोककुमारलाई भने प्रहरीले जमलस्थित एलोप्यागोडा होटेलको कोठा नम्बर १०७ बाट पक्राउ गरेको हो । होटेलबाट पक्राउ तीनजना र मारुतीचालक तीन दिनअघि गड्डाचौकी नाका हुँदै काठमाडौं आएका थिए । तस्करको सुन भने चालक दीपक र मनोजलाई गड्डाचौकीबाट भारत ल्याउन अह्राएर तीनैजना जहाजबाट भारत जाने योजनामा थिए ।
एयरफिल्टरमा भेटियो तीन केजी सुन
गोप्य सूचना पाएपछि नागढुंगा चेकपोस्टमा प्रहरीले चेकजाँच बढाएको थियो । यही क्रममा ८०० युके ०२४६८४ नम्बरको मारुती चेकपोस्टमा रोकियो । सो मारुतीमा तस्करीको सुन रहेको सूचना पाएपछि प्रहरीले लक गरिएको एयरफिल्टर खोल्यो । त्यसैभित्र भेटियो टेपले र्यापिङ गरिएको सुनको तीनवटा बिस्कुट ।