Aafno Khabar

कक्षा १२ को नतिजा सार्वजनिक, अघिल्लो वर्षको भन्दा नतिजामा सुधार

  • आफ्नो खबर
  • २०८० साउन ३० गते २०:०६ प्रकाशित

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक भएको हो ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । कक्षा १२ को नतिजामा ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार गत वर्ष भन्दा यस वर्ष ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ०.७२ प्रतिशतले बढी छन् । ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ रहेको छ ।

परीक्षा बोर्डले माथिल्लो जीपीए ल्याउने विद्यार्थीको संख्या बढेको बताएको छ । यस्तै १ लाख ८२ हजार ९२६ जना एनजी ल्याएका छन् । यो वर्ष नतिजामा सुधार भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो । गत वर्षभन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको जनाइएको छ ।

गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ, त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।