काठमाडौं । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा आज राति अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वबाट पश्चिम–दक्षिण पश्चिमतिर सर्दै गएको पानी पार्ने प्रणाली सुदूरपश्चिममा बढी केन्द्रित भएकाले अति भारी वर्षाको प्रक्षेपण गरिएको हो ।
आज राति सुदूरपश्चिमको पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। २४ घण्टाको अवधिमा २०० मिलिमिटर वा सोभन्दा बढी पानी पर्नुलाई ‘अति भारी वर्षा’ भन्ने गरिन्छ ।
अहिले नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर छ । साथै भारतको उत्तर पूर्वी उत्तरप्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव छ । यसको प्रभाव सोमबारसम्म कायम रहने र त्यसपछि क्रमिक सुधार हुने देखिएको मौसम विभागले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार देशभर सामान्यदेखि पूर्ण बदली छ । सामान्य बदली भन्नाले ३६ देखि ५० प्रतिशत आकाश बादलले ढाकेको र पूर्ण बदली भन्नाले शतप्रतिशत आकाश ढाकिएको भन्ने बुझिन्छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै र मधेश प्रदेशको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
सोमबार पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक–दुई स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।