चिनियाँ राष्ट्रपति सी जिन्पिङद्वारा चीनको नयाँ प्रधानमन्त्रीका रूपमा मनोनित व्यक्तिलाई त्यहाँको संसद्ले औपचारिक रूपमा निर्वाचित गरेको छ।
देशको सबैभन्दा ठूलो सहर साङ्घाइका पूर्व कम्युनिष्ट पार्टी नेता ली चियाङले अब अवकास लिइरहेका ली खछ्याङको स्थानमा सरकारको नेतृत्व गर्नेछन्।
त्रिसट्ठी वर्षीय ली चियाङले न्याशनल पिपुल्स कङ्ग्रेसका २,९०० भन्दा बढी प्रतिनिधिमध्ये लगभग सबैको मत प्राप्त गरे। उनी राष्ट्रपति सीका नजिकका सहयोगी हुन् र उनलाई व्यवहारवादी नेताका रूपमा हेर्ने गरिन्छ।अब उनले सङ्घर्षपूर्ण बनेको चीनको अर्थतन्त्रलाई पुनर्जीवित पार्ने जिम्मेवारी पाउनेछन्।
नयाँ प्रधानमन्त्री नियुक्तिको घोषणा आइतवार हुने बताइएको छ। चीनको ुरबरस्ट्याम्पु संसद्को बैठकमा मतदान हुँदा कुनै पनि पत्रकारलाई उक्त कक्षमा प्रवेश गर्न दिइएन।
राष्ट्रपति सीले मतदान गर्दा ताली बजेको थियो। ली अब चीनको राजनीतिक प्रणालीमा दोस्रो उच्च दर्जाका अधिकारी हुनेछन्।उनले कुल २,९३६ मत प्राप्त गरे। केवल तीन जना प्रतिनिधिहरूले उनको नियुक्तिको विपक्षमा मतदान गरे भने आठजना अनुपस्थित भएका थिए।
त्यसपछि उनले चीनको संविधानप्रति वफादार रहने र समृद्ध, बलियो, प्रजातान्त्रिक, सभ्य, मेलमिलाप र महान् आधुनिक समाजवादी देश निर्माण गर्न कडा मेहनत गर्ने शपथ लिए।