Aafno Khabar
add khanepani

‘प्रचण्ड’ को बालुवाटारमा ह्याट्रिक इन्ट्री

  • आफ्नो खबर
  • December 25, 2022 प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ७ दल र स्वतन्त्रसहित १७९ सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने हुनुभएको छ ।

सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गर्न पुग्नुभएका प्रचण्ड ७ दल र ३ स्वतन्त्र सांसदसहित तेस्रो पटक प्रधानमन्त्री बन्न लाग्नुभएको हो।

बालकोटस्थित एमाले अध्यक्ष ओली निवासमा आज दिउँसो बसेको ७ दलको बैठकले प्रधानमन्त्रीमा प्रचण्डलाई अघि सार्ने निर्णय भएको हो । २७५ सांसद रहेको प्रतिनिधि सभामा प्रचण्डलाई एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद अमरेशकुमार सिंह, प्रभु साह र किरणकुमार साहले समर्थन गरेका छन् ।

प्रचण्डलाई नेकपा एमालेको ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र ३ स्वतन्त्रसहित १६९ सांसदले समर्थन गरेका छन् ।

प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री हुन लाग्नुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दलहरुलाई एक साताभित्र सरकार बनाउन आह्वान गर्नुभएको थियो । उहाँले दिएको समय आजै साँझ ५ बजे सकिएको छ ।

समय सकिनुअघि नै प्रचण्ड शीतल निवास पुगेर आफ्नो दाबी पेश गर्नुभएको हो । सात दलबीच भएको सहमति अनुसार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आधा आधा कार्यकाल प्रधानमन्त्री हुने छन् । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहितका पदहरुको भागवण्डा भने मिलिसकेको छैन ।