काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बालुवाटारमा बस्दैछ। बुधबार अपरान्ह ४ बजे बालुवाटारमा बैठक बस्नेछ ।
यसअघि बसेको कार्यदल बैठकले सिट बाँडफाँट आधारको खाका प्रस्तुत गर्ने जिम्मेवारी संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको थियो।
गत वैशाखको स्थानीय चुनाव, २०७४ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ दलले ल्याएका मत, संसदमा अहिले दलहरूको प्रतिनिधित्वलगायत हेरेर सिट बाँडफाँट आधारका खाका प्रस्तुत गर्ने तयारी छ।
‘उहाँले गत स्थानीय चुनावमा वडाहरूमा सत्ता गठबन्धनमा रहेका दलहरूले ल्याएका मत, ०७४ को चुनावमा ल्याएका मतलगायत अध्ययन गरिराख्नुभएको छ,’ एक सदस्यले भने, ‘संयोजकले आज केही न केही खाका बैठकमा पेश गर्नुहोला।’
गत साउन २० मा सत्त गठबन्धनका ५ दलले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन गर्ने औपचारिक निर्णय गर्दै कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्नेबारे टुंगो गर्न ११ सदस्यीय कार्यदल गठन गरेका थिए।
कार्यदललाई सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले छिटोभन्दा छिटो प्रतिवेदन दिन निर्देशन दिइसकेको छ। कार्यदलले प्रतिवेदन दिएपछि विवाद देखिए शीर्ष नेताको बैठकबाट हल गर्ने पनि तयारी छ।